संविधान कार्यान्वयनमा ढिलाइ हुँदा सुशासन कायम भएन : अशोककुमार राई
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
589
Shares
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोककुमार राईले संविधान कार्यान्वयनमा ढिलाइ हुँदा मुलुकमा सुशासन कायम हुन नसकेको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष राईले प्रत्येक १० वर्षमा संविधानको समीक्षा गर्नुपर्ने भए पनि अहिलेसम्म त्यसको कार्यान्वयनका लागि आवश्यक कानुनहरू नै बनाउन नसकिएको बताए। उनले कानुन निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिए।
उनका अनुसार, अख्तियारसम्बन्धी विधेयक समितिमा अल्झिएको छ, जसले जनतामा असन्तुष्टि बढाएको छ। उनले कानुन निर्माणमा सरकारी हस्तक्षेपका कारण पनि ढिलाइ हुने गरेको आरोप लगाए।
राईले भने, “हामीले १० वर्षमा समीक्षा गर्ने भनेका थियौँ, तर यो अवधिमा संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन नै बनाउन सकेनौँ। बल्ल हामीले एउटा निजामती ऐन बनायौँ। प्रहरीसम्बन्धी लगायतका ऐन निर्माणकै क्रममा छन्। कानुन निर्माण गर्दा पनि सरकारले चाहेकै जस्तो ऐन पास गर्नुपर्ने स्थिति छ।”
अध्यक्ष राईले मुलुकको सबैभन्दा ठूलो समस्या सुशासन भएको र यसलाई सुधार गर्न प्रशासकहरूका समस्या समाधान गर्न सरकारको ध्यान जानु आवश्यक रहेको पनि बताए।