arrow

जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ - रमेश लेखक

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८२ भदौ १६ सोमबार
ramesh-lekhak-82-5-16e.jpg

वीरगञ्ज  । गृहमन्त्री रमेश लेखकले नेपालमा लोकतन्त्र र स्वतन्त्र पत्रकारिता एकअर्कासँग जोडिएको बताएका छन् । सोमबार नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ।”

गृहमन्त्री लेखकले आफू पनि लामो समय पत्रकारितासँग आबद्ध भएको स्मरण गर्दै पत्रकारको कुरा सधैं सम्मान गर्ने बताउँदै थपे, “म आफैँ पनि पत्रकार भएको नाताले पत्रकारलाई आफ्नै परिवार जस्तै मान्छु।”

यसै अवसरमा उनले नेपालको सार्वभौमसत्ता र भूभागको मुद्दा उठाउँदै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि भएको दोहोर्याए। चीन र भारतबीच लिपुलेकलाई व्यापार नाका बनाउन गरिएको सम्झौताप्रति आपत्ति जनाउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अडानलाई उचित ठहर गरे।

गृहमन्त्री लेखकले भने, “चीन–भारतले गरेको उक्त सम्झौताप्रति हाम्रो आपत्ति छ। प्रधानमन्त्री ओलीको अडान सही हो। नेपालकै भूमि हाम्रो हो भनेर भन्नाले कुनै पनि छिमेकी मुलुकसँग सम्बन्ध बिग्रँदैन। यसलाई लिएर कसैले चित्त दुखाउन जरुरी छैन।” 

वीरगञ्जका मेयर राजेशमान सिंहले अरूको छोरीलाई आफ्नो बनाएर नागरिकता दिलाएको र किर्ते जन्मदर्ता लेखत तयार गरेको विरुद्धको मुद्दामा नश्लीय चिन्तनको आधारमा मुद्दामा ढिलाइ भइरहेको आरोपबारे जवाफ दिँदै गृहमन्त्री लेखकले कानून अनुसार कारबाही हुने र मोलाहिजा कुनै हालतमा नहुने बताए । 

नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टा, नेपाली कांग्रेस पर्साका सभापति एवं मधेस प्रदेशका कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, मधेस प्रदेशका सभासद श्याम पटेललगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ