क्यान्सरले घरमूली खोसेपछि श्रीमती र चार छोरीको बिचल्ली
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
930
Shares
मुगु । टाउकोमा क्यान्सर भएर लाम्रो समयदेखि पीडा भोग्दै आएका छायाँनाथ रारा नगरपालिकावडा नं १० तल्लेखका रामबहादुर बिकको गत चैत्रमा उपचारकै क्रममा मृत्यु भएपछि उनकी श्रीमतीसहित चार छोरीको बिचल्ली भएको छ ।
श्रीमान बचाउनका लागि उपचार गर्दागर्दै चार, पाँच लाख ऋण लागेको र आय आर्जन गर्ने मूल व्यक्ति नै नभएपछि परिवार चलाउनै धौधौ परिरहेको असौजी बिकले बताइन् ।
‘कान्छी छोरी गर्भमै हुँदा श्रीमानको मृत्यु भयो । उनी अहिले चार महिनाको छिन् । जेठी छोरी पाँच बर्ष, माइली तीन वर्ष र साहिली दुई बर्ष पुगिन् । उनीहरुको लालनपालनमै समस्या भइरहेको छ,’ विकले अगाडि भनिन्, ‘श्रीमानको टाउकोमा सानो चोट लागेपछि बिस्तारै ठूलो घाउका रुपमा फैलियो । पछि क्यान्सर भएको थाहा भयो । उपचार गर्दागर्दै सबै सम्पत्ति सकियो । ऋण लाग्यो तर उहाँलाई बचाउन सकिएन् । चार,पाँच लाख रुपैयाँ ऋण लाग्यो ।’
छोरीहरुलाई अलपत्र राखेर काम गर्न जान पनि समस्या भइरहेको उनले सुनाइन् । ‘काम गर्न जान नपाएपछि बिहान-बेलुका छाक टार्न, छोरीहरुका लागि तत्ताकपडा किन्न नसक्दा पिरलो परिरहेको छ । श्रीमानले मजदूरी गरेरै हामीलाई पाल्नुभएको थियो । अहिले अवस्था बिग्रिएको छ,’ २५ वर्षीया विकले भनिन् ।
सुत्केरी हुँदा राम्रो स्याहार नहुँदा हाल आँखा र खुट्टा सुनिने समस्या रहेको सुनाउँदै उनले भनिन्, ‘छोरीहरु विद्यालय जान खोज्छन्, अरु साथी स्कुल गएको देखेपछि जाने इच्छा गर्छन् । तर लुक, किताब, कापी नहुँदा घरमै बस्न बाध्य छन् ।’
छायाँनाथ रारा नरपालिका वडा नं १० का वडा अध्यक्ष हस्तबहादुर बुढाले विक परिवारको अवस्था नाजुक भएकाले सहयोगका लागि अपिल गरे ।
‘रामबहादुर विकलाई बचाउनका लागि धेरै सहयोग गरियो । तर बचाउन सकिएन् । अहिले छोरी र श्रीमतीलाई आवश्यक सहयोग जुटाउन मुस्किल भइरहेको छ । सबैले सहयोग गरिदिए उनीहरुको भविष्य राम्रो हुनेथियो,’ उनले भने ।