arrow

मल नपाइएपछि भात खान नपाउने चिन्तामा किसान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
rasaynik-mal-kisan-dang.jpg

बर्दिया । गुलरिया नगरपालिका वडा नं ३ बस्ने बाबुराम यादव युरिया मलको खोजीमा निक्कै भौतारिए । कुनै पनि सहकारीको शेयर सदस्य नभएकाले उनले धानमा हाल्नका लागि मल पाएनन् । उनको खेतमा धान पहेँलै छ । ‘यसपालि भात खान नपाइने भयो’, उनले भने । 

‘सहकारीका सदस्यलाई नपुगिकन हामीलाई मल दिँदैनन्,’ उनले भने, ‘पहिले पर्याप्त मल आउँदा दिन्थे अहिले हामीलाई मल दिँदैनन् ।’ 

सरकारले पठाउने अनुदानको मल सहकारीमार्फत बिक्री गर्ने सरकारको नीति छ । तर सहकारीको साधारण सदस्यले मल नपाई सर्वसाधारणले रासायनिक मल पाउँदैनन् । 

सहकारी संस्थामा नै मल न्यून गएको हुँदा एक किसानले पाँच केजीसम्म युरिया बाँडेर लगेका छन् ।

एक बिगाहा खेत हुने किसानले पाँच किलो मल लगेको गुलरिया नगरपालिका वडा नं ३ मा रहेको कल्पतरु कृष्णसार कृषि सहकारी संस्थाका अध्यक्ष चिन्तामणि कँडेलले बताए । 

सरकारले पठाउने मल पर्याप्त नहुँदा बर्दिया जिल्लामा यस बर्ष धान खेतीको लागि युरिया हाहाकार भएको छ । गत वर्ष सरकारको मल अपर्याप्त भए पनि कृषकले भारतीय सिमावर्ती बजारबाट मल खरिद गरेर ल्याउने गरेका थिए ।

यस वर्ष भारतीय बजारमा समेत मल पाउन छाडेपछि किसान झन् मर्कामा परेका छन् । ‘पहिले पहिले भारतबाट अवैधरुपमा मल ल्याएर हाल्ने गरेका थियौँ’ नाम उल्लेख नगर्ने शर्तमा एक किसानले बताए ।

उनले थप भने, ‘यस वर्ष भारतीय बजारमा समेत मल पाइएन त्यसैले पनि मल हाल्न पाइएन, धान रोप्दा थोरै थोरै डिएपी हालेको थिएँ अहिले युरिया त हाल्नै पाएन ।’ 

मलको अभावमा किसानका खेतहरू पहेँला देखिन थालेका छन् । सिचाइ अभाव खेप्दै आएका बर्दियाका किसान रासायनिक मलको अभाव पनि खेपिरहेका छन् । पर्याप्त रासायनिक मल नहुँदा यस बर्ष धान उत्पादन घट्न सक्ने अनुमान गरिएको छ । 

एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकालले यस बर्ष रासायनिक मलको चरम अभाव भएको बताए ।

रासायनिक मलको अभावले गर्दा धानको उत्पादनमा कमी आउने अनुमान गरिए पनि कति घट्छ भन्ने यकिनका साथ भन्न नसकिने उनले बताए । 

बर्दिया जिल्लामा करिब ५१ हजार हेक्टरमा धान खेती हुने गर्दछ । प्रमुख ढकाललका अनुसार बर्दिया जिल्लामा  बार्षिक १२ हजार मेट्रिक टन युरिया, सात हजार मेट्रिक टन डीएपी र एक हजार मेट्रिक टन युरियाको माग हुँदै आएको छ ।

जसमध्ये ५० प्रतिशत मल मात्र बर्दियामा उपलब्ध हुँदै आएको छ । गत वर्षसम्म किसानले भारतीय बजारबाट मल ल्याउने गरे पनि यस वर्ष भारतीय बजारमा समेत मल पाइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ