गृहमन्त्री लेखकद्वारा हैजा संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
550
Shares
वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन् ।
शनिबार साँझ वीरगञ्ज पुगेका गृहमन्त्री लेखकले वीरगन्जको नारायणी अस्पताल, तराई अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिएका हुन् ।
गृहमन्त्री लेखकले वीरगञ्जमा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताए ।
महामारी नियन्त्रणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री लेखकले केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाउने निर्णय भएको बताएका छन् ।
अस्पताल प्रशासनबाट माग भए सुरक्षा निकायबाट तत्काल जनशक्ति र औषधि उपलब्ध गराइने उनको भनाइ थियो ।
‘नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिन्नौँ । तपाईँलाई थप जनशक्ति वा औषधि आवश्यक भए नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको चिकित्सक टोलीका साथै औषधि र उपकरण तत्काल उपलब्ध हुन्छ,’ गृहमन्त्री लेखकले भने ‘यसका लागि केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरिसकेको छ ।’
प्रधानमन्त्रीले पनि प्रतिनिधिसभा बैठकमा पनि सुरक्षा निकायका चिकित्सक परिचालन गर्ने बताएका छन् ।
हैजा पूर्णरुपमा नियन्त्रणमा ल्याउन सरकारले विशेषज्ञसँग सल्लाह गरेर मूल कारण पहिचान गर्नुपर्नेमा उनले जोड दिए ।
गृहमन्त्री लेखकले हैजा महामारी क्षेत्रको वस्तु-अवस्था बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका दुई जना डाक्टरलाई जिम्मेवारी दिए ।