काठमाडौं । आज भाद्र शुक्ल सप्तमीबाट १६ दिन लामो महालक्ष्मी व्रत सुरु भएको छ। यो व्रत आश्विन कृष्ण सप्तमीसम्म अर्थात् असोज ११ गते शुक्रबारसम्म चल्नेछ।
यो १६ दिनको अवधिमा निष्ठापूर्वक देवी लक्ष्मीको उपासना गर्ने भक्तले धन र समृद्धि प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ। यस व्रतलाई देवी महालक्ष्मीलाई प्रसन्न गराउने एउटा महत्त्वपूर्ण अवसरका रूपमा पनि लिइन्छ।
महालक्ष्मी व्रतको अवधिभर ब्रह्मचार्यमा रहनुपर्ने र भूमिमा सुत्नुपर्ने नियम छ। व्रतका क्रममा भक्तहरूले दूध, चन्दन, र दुग्धजन्य पदार्थहरूले लक्ष्मी माताको पूजा गर्छन्। यसबाहेक कमलको दाना भएको माला जप गर्दै लक्ष्मी माताको अर्चना गरिन्छ। यी १६ दिनमा सात मुखे रुद्राक्ष लगाउनु पनि अत्यन्त फलदायी मानिन्छ।
धार्मिक मान्यताअनुसार, यो व्रतको प्रभावले अलक्ष्मी नाश हुने र मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने विश्वास गरिन्छ।
पौराणिक कथाअनुसार, समुन्द्र मन्थनका क्रममा क्षीर सागरबाट देवी लक्ष्मीको उत्पत्ति भएको थियो र पछि उहाँको शुभ विवाह भगवान विष्णुसँग भएको थियो। कमलको फूलमा विराजमान देवी लक्ष्मीको हातबाट सधैँ धातुका सिक्काहरू खसिरहेको बिम्बले उहाँ धनकी देवी, कोमल मन र सहज उपस्थितिको प्रतीक भएको जनाउँछ।