arrow

इरानमाथिको प्रतिबन्धबारे पुटिन र पेजेस्कियानबीच चीनमा छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
putin- TASS HOST PHOTO AGENCY.jpg

काठमाडौँ । युरोपेली शक्तिराष्ट्रहरूले इरानमाथि पुनः प्रतिबन्ध लगाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी सोमबार आफ्ना इरानी समकक्षी मसूद पेजेस्कियानसँग चीनमा भेटवार्ता गर्ने भएका छन्।

बेलायत, फ्रान्स र जर्मनीले सन् २०१५ को आणविक सम्झौताको पालना गर्न इरान असफल भएको भन्दै पुनः प्रतिबन्ध लगाउने निर्णय गरेपछि यो भेट हुन लागेको हो।

इरानको प्रमुख सहयोगीको रूपमा रहेको रुसले युरोपेली राष्ट्रहरूद्वारा लगाइएका प्रतिबन्धहरूको कडा आलोचना गरेको छ। रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो कदमले 'अपूरणीय परिणाम र थप त्रासदी' निम्त्याउन सक्ने चेतावनी दिँदै आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।

रुसले इरानको आणविक कार्यक्रमसम्बन्धी गतिरोधको शान्तिपूर्ण समाधान खोज्न युरोपेली राष्ट्रहरूले कूटनीतिक प्रयासलाई कमजोर बनाएको आरोप पनि लगाएको छ।

क्रेमलिनका अनुसार, पुटिनले चीनको तियानजिन शहरमा हुने साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनका क्रममा पेजेस्कियानसँग भेटवार्ता गर्नेछन्।

बेलायत, फ्रान्स र जर्मनीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई इरानले सम्झौताका प्रतिबद्धता पूरा नगरेको जानकारी दिएका छन्। उनीहरूले ‘स्न्यापब्याक’ संयन्त्रको आह्वान गरेका छन्, जसअन्तर्गत सन् २०१५ को सम्झौतामा निलम्बन गरिएका प्रतिबन्धहरू पुनः लागू गर्न ३० दिनको समयसीमा सुरु हुनेछ।

यस कदमको जवाफमा इरानले 'उचित प्रतिक्रिया' दिने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, यसले इरानको आणविक जोखिमको शान्तिपूर्ण समाधानका लागि भएका कूटनीतिक प्रयासलाई अवरोध पुर्‍याउन सक्छ।

स्मरण रहोस्, रुस र इरानबीच विगत एक दशकदेखि राजनीतिक, सैन्य र आर्थिक सम्बन्ध प्रगाढ बन्दै गएको छ, खासगरी रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि यो सम्बन्ध झनै मजबुत भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ