उखु किसानको अनुदान र बक्यौता तत्काल भुक्तानी गर्न सांसद साउदको माग
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
1.5k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले उखु किसानको अनुदान कटौती गरिएको र भुक्तानी रोकिएकोप्रति आपत्ति जनाउँदै तत्काल बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साउदले उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ तेस्रो संशोधनसम्म पुग्दा पनि कार्यान्वयन नहुनुले किसानमाथि अन्याय भएको बताए। उनले उखु किसान र उद्योगीको अर्बौं रुपैयाँ भुक्तानी नहुँदा राज्यको विश्वसनीयतामाथि नै प्रश्न उठेको बताए।
सांसद साउदले चालु आर्थिक वर्षदेखि घटाइएको उत्पादनमा आधारित प्रति क्विन्टल ७० रुपैयाँ अनुदान पुनः उपलब्ध गराउन र बाँकी बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेका छन्।
उनले उद्योगी र किसान दुवैको हितलाई ध्यानमा राखी चिनी आपूर्तिको लागि दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति बनाउन पनि सरकारलाई आग्रह गरे। साउदले किसानका समस्या समाधानमा सरकारले तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिए।