विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै माओवादी कार्यालयमा धर्ना
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
690
Shares
काठमाडौं। प्रस्तावित विद्यालय शिक्षा विधेयकमा संशोधन गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा धर्ना दिएको छ। महासंघले यसअघि सरकारसँग भएका सहमतिअनुसार विधेयकमा आफ्ना मागहरू समावेश गर्न दबाब दिन यो आन्दोलन सुरु गरेको बताएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सार्वजनिक शिक्षालाई सुधार्नका लागि शिक्षक र कर्मचारीले उठाएका मागहरू सम्बोधन गर्नुको विकल्प नरहेको बताएका छन्। महासंघले अस्थायी प्रकृतिका शिक्षकको पदपूर्तिमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुला हुनुपर्ने माग गरेको छ। तर, विधेयकमा भने ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुलाको व्यवस्था गरिएको छ।
यसका साथै, महासंघले विद्यालय कर्मचारीको पद र वेतन, बालकक्षा शिक्षकको सेवा सुविधा र संस्थागत विद्यालयका शिक्षकको अव्यावहारिक सरुवा प्रणालीजस्ता विषयमा पनि विरोध जनाएको छ।
महासंघले भदौ २० गतेसम्म धर्ना कार्यक्रम जारी राख्ने जनाएको छ। यसअन्तर्गत भदौ १३ गते देशभरका स्थानीय तहहरूमा र भदौ १५ गते जिल्ला शिक्षा इकाइहरूमा पनि धर्ना दिने कार्यक्रम रहेको छ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट भदौ ५ गते पारित भएको यस विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका छन्।