'राज्य असफल भयो' भन्नु बेतुकको कुरा हो - योगेश भट्टराई
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
655
Shares
काठमाडौं। नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपालको राज्य प्रणाली असफल भयो भन्ने टिप्पणीहरू बेतुकको भएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संघीय राज्य प्रणाली सफलतापूर्वक अघि बढिरहेको र यसलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए।
भट्टराईले संविधान जारी भएपछि भएका दुईवटा निर्वाचनहरू निर्वाचन आयोगले सफलतापूर्वक सम्पन्न गरेको भन्दै राज्य संयन्त्र निरन्तर गतिशील रहेको स्पष्ट पारे। कर्मचारीतन्त्र, सुरक्षा निकाय र अदालतजस्ता राज्यका महत्त्वपूर्ण संयन्त्रहरूले राम्रो काम गरिरहेको भए पनि केही सुधारको खाँचो रहेको उनको भनाइ थियो।
भट्टराईले संविधान कार्यान्वयनको प्रक्रिया सही दिशामा रहेको बताए। यद्यपि, उनले संविधानमा केही प्रावधानहरू हतारमा वा पर्याप्त छलफलबिना नै समावेश गरिएको टिप्पणी गरे।
उनले नेपालको संघीयताको मोडल उपयुक्त भए पनि यसलाई थप सहभागितामूलक बनाउन नसकिएको बताए। साथै, समानुपातिक प्रणालीमार्फत राज्य संयन्त्रमा वञ्चित समुदायलाई जोड्न खोजिए पनि त्यो उद्देश्य पूर्ण रूपमा प्राप्त हुन नसकेको उनको भनाइ छ।
भट्टराईले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको अधिकार क्षेत्रमा हस्तक्षेप बढेको टिप्पणी गरे। न्यायपालिकाले सक्रियताभन्दा बढी हस्तक्षेप देखाउँदा अन्य संयन्त्रलाई काम गर्न कठिन हुने उनको तर्क थियो। उनले संविधान संशोधनमार्फत यी सबै समस्याहरूको समाधान खोज्नुपर्नेमा जोड दिए।