arrow

'राजनीतिक दलहरूले ऐन कार्यान्वयन गर्न सकेनन्'

दलहरू कानुनविपरीत 'लुकामारी' खेलेझैं गरिरहेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
deenesh-thapaliya-purba-aayukta.jpg

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले राजनीतिक दलसम्बन्धी कानुनको कार्यान्वयन नगरेको भन्दै आलोचना गरेका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलहरू कानुनविपरीत 'लुकामारी' खेलेझैं गरिरहेको आरोप लगाए।

थपलियाका अनुसार, राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय पदाधिकारीले निर्वाचित भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण पार्टी कार्यालयमा बुझाउनुपर्ने व्यवस्था भए पनि कुनै पनि दलले त्यसको पालना गरेका छैनन्। उनले निर्वाचन आयोगलाई दलको कार्यालयमा प्रवेश गर्ने अधिकार नभएकाले कानुन कार्यान्वयन भए/नभएको अनुगमन गर्न समस्या भएको बताए।

राजनीतिक दलहरू नै ऐनविपरीत चल्दा देशको विकास, सुशासन र संस्थागत उन्नतिमा गम्भीर असर परेको थपलियाको भनाइ छ। उनले मुलुकको विकास र समृद्धिको दायित्व राजनीतिक दलको नै भएको भन्दै जबसम्म दलहरू बलियो र संस्थागत हुँदैनन्, तबसम्म देशको समृद्धि सम्भव नहुने बताए।

उनले सरकारलाई यस्ता सबै विषय समावेश गरेर नयाँ कानुन बनाउन पहल गर्न र त्यसलाई पारित गर्न सुझाव दिए। यदि त्यस्तो कानुन बन्यो भने कार्यान्वयनमा मात्र छलफल गर्न सकिने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ