सरकारले १० अर्बको विकास ऋणपत्र जारी गर्दै, बोलकबोल बुधबार
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
685
Shares
काठमाडौँ। सरकारले आन्तरिक ऋण व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने तयारी गरेको छ। यो ऋणपत्र दुई वर्षभन्दा बढी अवधिका लागि आन्तरिक ऋण उठाउन प्रयोग हुने सरकारी ऋणपत्र हो।
सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार, सरकारले ३ वर्षका लागि विकास ऋणपत्र –२०८५ 'ढ' बोलकबोलमार्फत जारी गर्दैछ। इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूले भाद्र ११ गते बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागी हुन सक्नेछन्।
बोलकबोलका मुख्य शर्त तथा प्रावधानहरू
भुक्तानी र ब्याज: ऋणपत्रको सावाँ २०८५ भाद्र १२ गते भुक्तानी हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ र त्यसमा आयकर लाग्नेछ।
ब्याजदर निर्धारण: बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर 'कट अफ' ब्याजदरको आधारमा एकल ब्याजदर कायम गरिनेछ।
सहभागिता: ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्नेछन्। यो ऋणपत्र धितोमा राखी कर्जा लिन वा दिन पनि पाइनेछ।
लगानीको सीमा: लगानीकर्ताले कम्तीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमाभित्र ५० हजारले भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ।
बाँडफाँट: निष्कासित रकमको ८५ प्रतिशत (८ अर्ब ५० करोड रुपैयाँ) प्रतिस्पर्धी बोलवालाहरूलाई र १५ प्रतिशत (१ अर्ब ५० करोड रुपैयाँ) अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिनेछ।