५६ वर्ष पुरानो गुर्गी सिँचाइ आयोजना अलपत्र, करोडौँको बजेट फ्रिज
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
899
Shares
कैलाली ।कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा ५६ वर्षअघि निर्माण भएको गुर्गी सिँचाइ आयोजना अलपत्र परेको छ। २०६४ सालमा आएको बाढीले पक्की बाँध भत्काएपछि सो आयोजना हालसम्म पुनःनिर्माण हुन सकेको छैन।
हरेक वर्ष बजेट विनियोजन भए पनि काम अघि बढ्न सकेको छैन। सुदूरपश्चिम प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका अनुसार, आर्थिक वर्ष २०७९/८० मा ६ करोड र २०८०/८१ मा १२ करोड रुपैयाँ विनियोजन भएको थियो तर पानीको स्रोत सुनिश्चितता नभएका कारण ती बजेट खर्च हुन नसकी फ्रिज भए। चालू आर्थिक वर्ष २०८१/८२ मा पनि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर टेकराज विनाडीले आयोजना अघि बढाउन पुनः विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्नुपर्ने बताएका छन्। कार्यालयले ४४ करोड रुपैयाँको लागत अनुमानसहित प्रतिवेदन पेस गरे पनि आर्थिक मामिला मन्त्रालयले ३० करोडको प्रतिवेदन मात्र स्वीकृत गरेकाले ठेक्का प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ।
स्थानीय किसान दयाराम चौधरीले २० वर्षदेखि नहरको पानी प्रयोग गर्नबाट वञ्चित हुनुपरेको गुनासो गरे। यो आयोजना सञ्चालनमा हुँदा एक हजार चार सय हेक्टरभन्दा बढी जमिनमा सिँचाइ पुग्ने र झन्डै ६ हजार किसान लाभान्वित हुने गरेका थिए। अहिले किसानहरू आकाशे पानी र बोरिङको भरमा खेती गर्न बाध्य छन्।
हालै, प्रदेशसभाको एक संसदीय समितिले बाँधको स्थलगत अनुगमन गरी सार्वजनिक सुनुवाइ गरेको थियो, तर आयोजनामा भएको ढिलाइको विरोधमा स्थानीय किसानले कार्यक्रम नै बहिष्कार गरेका थिए।