माओवादी द्वन्द्वको असर पछिको राजनैतिक र व्यावसायिक चेतनाको यात्रा
जीवन धमला,
प्रकाशित २०८२ भदौ ७ शनिबार
2.2k
Shares
देश सशस्त्र द्वन्द्वको चपेटामा परेको बेला म मात्र ६ वर्षको थिएँ । देशमा सङ्कटकाल चुलियो । माओवादी द्वन्द्व सबैतिर आक्रान्त बन्दै गएको थियो । गाउँमा राजनैतिक गतिविधिहरूमाथि राज्य तथा विद्रोही दुवैको आँखा थियो । बुबा म तथा दिदी दाइहरूलाई २०४७ सालको जनआन्दोलनका कथाहरू सुनाउनु हुन्थ्यो । अनि प्रजातन्त्र प्राप्तिका लागि नेपाली कांग्रेसले गरेको सङ्घर्षका गाथाहरू मेरो मन मस्तिष्कमा डुलिरहन्थे ।
'तेरा दिदी-दाइलाई त माओवादीले अपहरण गरे।' ५९ साल बैशाखमा जब म स्कूलमा थिएँ, छिमेकका काकाले खबर ल्याए। मेरो शिशु दिमागमा अपहरण भनेको के हो भन्ने नै थाहा थिएन। बुबाको मुखबाट जनआन्दोलनको कथा सुनेको मैले सशस्त्र द्वन्द्व कसरी 'राजनैतिक' हुन्छ भन्ने ठम्याउन सकेको थिइन ।
घर फर्किए पिँडीमा आमा रुँदै गरेको देखेर एक्कासी भक्कानिएँ । अनि बुबा सदरमुकाम गएर रिपोर्ट लेखाउने भन्दै हुनुहुन्थ्यो, मलाई मेरो दिदी र दाइलाई किन अपहरण गरे भन्ने थाहा थिएन र सायद आउलान् भन्ने आस थियो। ठूलो हुँदै गर्दा त्यो घटनाले यसरी मेरो मनमा छाप छोड्यो की राजनैतिक आततायीको विरोध प्रजातान्त्रिक पद्धतिबाट मात्र हुन सक्छ भन्ने विश्वास अडिग हुन लाग्यो ।
छोराछोरी अपहरण र बुबाको विराट रूप
म पढ्ने विद्यालयमा पनि माओवादी छापामारहरू आउँथे । क्रान्तिका कुरा गर्थे । संरचनागत विभेदका कुरा गर्थे र कसरी अरू राजनैतिक दल गरिब जनताका वर्गीय शत्रु हुन् भनेर चर्का भाषण गर्थे। मलाई हामी ३-४ कक्षामा पढ्ने बालबालिका कसरी उनीहरूको वर्ग शत्रु भए थाहा थिएन। अझ स्कूलबाट जब अलिक ठूला दाइ दिदीहरूलाई आफ्नो युद्धमा सरिक हुन भनेर लैजान्थे, मन सिरिङ्ग हुन्थ्योस्कूल। जब मैले आफ्नै दाइ दिदी अपहरणमा परेको सुनेँ, मैले त्यो कुरालाई राम्ररी बुझ्न सकिन । आमाको आँसु र बाबाको अमिलो अनुहारले एक किसिमको उकुसमुकुस हुन्थ्यो ।
दाउरा पात गरेर खेतको काम गरेर मात्र स्कूल जान पाउने हामीले कसरी समाज भाँड्यौँ र कसरी शत्रु भयौँ थाहा थिएन । अपहरण भएको तीन दिनसम्म पनि केही थाहा थिएन । न घरको चुलो बल्यो, न आमाको गह ओभानो भयो । अनि बुबासँग जिद्दी गर्दै म पनि दाइ दिदी खोज्न जान्छु भनेर बाल हठ गर्दथेँ । बुवाले पनि आफ्ना दुई सन्तान हराएको पीडाले मलाई सायद केही भन्न सक्नु हुन्थेन ।
त्यसैले चौथो दिन म बुबासँगै लागेर अर्को गाउँ जाने भएँ । किनभने छिमेकी काकाले खबर ल्याए, माओवादीहरूले पल्लो गाउँमा सांस्कृतिक कार्यक्रम गर्दै छन् भनेर । त्यतिबेला ग्रामीण भेगमा न सडक थियो न यातायातको सुविधा । बिहान सबेरै उठेर बाबासँग म उकालो लागेँ । कार्यक्रम हुने भनेको गाउँ हाम्रोबाट ६ घण्टा ठाडो उकालो थियो, म बालखलाई १० घण्टा लाग्यो ।
जब गाउँ पुग्नै लागेका थियौँ बीचमा सेनाको हुल आइरहेको देखेँ। राज्य पक्षका सेना पनि माओवादी जत्तिकै क्रुर र संवेदनाहीन थिए । रुखो स्वरमा बुबालाई हकार्दा म आत्तिइसकेको थिएँ । तर बुवा पनि राजनैतिक चेत भएको सङ्घर्षशील किसान भएकोले शान्तसँग राज्यका छापामारसँग प्रतिरोध गर्नुभयो । साँझ जब हामी गाउँ पुग्यौँ त्यहाँ लगभग १०००-१५०० मानिसहरूका बीचमा सांस्कृतिक कार्यक्रम हुँदै थियो ।
६ वर्षको मलाई त्यति ठूलो भीड देख्दा आत्तिए र बुबाको हात बेस्कन समातेँ । आफ्ना छोरा छोरी खोज्न अडिग मेरो बुबाले माओवादीका नेताहरूसँग सोधखोज गर्नुभयो तर कुनै जानकारी पाइएन । त्यस रातको सम्झना मलाई अझैसम्म याद छ । मेरो आङ सिरिङ्ग हुन्छ जब सम्झिन्छु त्यो अत्यासलाग्दो रात । भोलिपल्ट म एक जना चिनेको आफन्तको घरमै रहँदा बुबा एकछिन हराउनु भयो ।
मेरो अबोध मानसपटलमा त्रास, डर र चिन्ताको भिडन्त भइरहेको थियो र सँगसँगै एउटा राजनैतिक चेत पनि आइसकेको थियो। हिंसाको राजनीतिले गरिब जनतालाई दुःख बाहेक केही दिँदैन रहिछ भनेर । एक छिनमा बुबा आउनु भयो र मलाई घर जाउँ भन्नुभयो । मैले सोध्न सकिन दाइ दिदीहरू भेट्नु भयो भनेर र बुवा सँगसँगै घर फर्किएँ ।
अपहरणमा परेको १० दिनपछि दाइ दिदी एक दिन जब अचानक आउनु भयो तब मैले आफ्नो खुशी रोक्न सकिन । आमा, म, दाइ र दिदी अँगालो हालेर धेरै बेर रोयौँ । बुबाले त्यस दिन कोसँग के कुरा गर्नु भो हामीलाई थाहा दिनु भएन, न हामीले नै सोध्ने साहस गर्यौँ । तर मेरो लागि बुबा त्यस दिनदेखि महाभारतमा देखिने गरेको कृष्णको विराट रूप भन्दा ठूलो र महान् हुनुभयो।
राजनैतिक चेतनाको आगमन
त्यति बेलाको नेपाल अहिलेको नेपालको तुलनामा धेरै अविकसित र ग्रामीण थियो । त्यसमाथि पूर्वको ओखलढुङ्गाको पनि ग्रामीण भागमा जन्मिएको मलाई शहरको उज्यालो र सहजपन कस्तो हुन्छ थाहा थिएन । बिहान गाई वस्तुलाई घाँस हालेपछि १ घण्टा हिँडेर स्कूल पुग्नु पर्ने, स्कूलबाट छुट्टी हुने बित्तिकै फेरि साँझको खेतीपातीको काम, सबैले स्कूल यसरी नै पढ्छन् होला भन्ने थियो । गाउँमा बत्ती पुगेको थिएन, टुकीको सहारामा गृहकार्य गर्दा गर्दै एक हुल मानिस बन्दुकसहित छिर्थे। यी मानिस किन आएका हुन् थाहा थिएन तर अबोध शिशु दिमागमा एक किसिमको डर र त्रास हुन्थ्यो।
आमाको फरियामा लुक्दै म ऊनीहरूसँग बुबाले गर्नु भएको कुरा सुन्थेँ । राजनैतिक चेत भनेको गैर हिंसा नै थियो मेरो लागि । त्यसैले उनीहरूले भन्ने गरेको राजनैतिक प्रहसन दन्त्य कथा झैँ लाग्थ्यो । बेला बेला सुरक्षाकर्मी आउँदा अलि अलि आशा लाग्थ्यो तर त्यति बेला राज्य माओवादीको नाममा गरिब किसान जनतालाई नै प्रताडित गर्थे । त्यसैले न राज्य प्रति भरोसा हुन्थ्यो, न विद्रोही प्रति नै।
अझ सुराकीको नाममा अरू राजनैतिक दलका नेता कार्यकर्ता माथि गरिने अत्याचारले एक किसिमको विद्रोह मेरो मनमा सलबलाउन थाल्यो । अनि शुरू भो मेरो राजनैतिक यात्रा, स्कूलमा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर म विभिन्न सांस्कृतिक कार्यक्रममा संलग्न हुन थालेँ । हिंसालाई राजनीतिबाट पर राख्नुपर्छ, राजनीति भनेको त गरिब किसान, मजदुर, महिला तथा उत्पीडित जातिको उत्थानका लागि हुनु पर्छ भन्ने दृष्टिकोणबाट प्रभावित र बुबाको कांग्रेस पार्टी प्रतिको आस्थाले मलाई विस्तारै नेपाली कांग्रेसप्रति भरोसा र विश्वास बढ्दै गयो।
आकर्षण लोकतन्त्रको
२०६२ सालमा द्वन्द्व चरम उत्कर्षमा थियो। म १० वर्षको थिएँ जब राजाको प्रत्यक्ष शासनको विरोधमा राजनैतिक दलहरू एकत्रित हुन लागे । गाउँमा पनि आन्दोलनको लहर चल्यो । जन्मेदेखिबाट नै सशस्त्र द्वन्द्व देखेको मैले जब आफूलाई मन पर्ने पार्टीले जनआन्दोलन गर्ने भन्यो अनि बुबाको हात समाई म पनि आन्दोलनमा जान्थेँ ।
राजाको प्रत्यक्ष शासनमा आवतजावत पनि निषेधित थियो तर गाउँमै कांग्रेसले आयोजना गर्ने गरेको विरोध सभामा स्वः स्फूर्त भाग लिन्थेँ । मेरो राजनैतिक चेतना, लोकतन्त्रप्रति अडिग विश्वास र समाजको विकासको लागि चाहिने राजनैतिक तथा आर्थिक सामाजिक चेत विस्तारै विकसित हुँदै गयो ।
२०६८ सालमा गाउँकै स्कूलबाट 'एसएलसी' उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि राजधानी नै आउनु पर्ने बाध्यता थियो । मध्यम आर्थिक स्थिति, खेती किसानीमा नै घर चलाउनु पर्ने बाध्यता अनि आफू भन्दामाथि दाइ दिदीहरू, परिवारले राजधानी पठाएर पढाउन सक्ने आर्थिक हैसियत थिएन । तर पनि सानैदेखि चुनौती सामना गर्न मन पराउने म, परिवारको केवल विश्वास मात्र बोकेर उच्च शिक्षाका लागि काठमाडौँ आएँ । त्यतिबेला मेरो गाउँबाट काठमाडौँ आउने सीधा बाटो थिएन, ४ दिनको यात्रापछि म काठमाडौँ बसपार्क झरेँ तर न कतै बस्ने ठेगाना न कसैको भर ।
आर्थिक चाप यति थियो कि आउने बित्तिकै काम खोज्नु सबैभन्दा महत्त्वपूर्ण थियो र साथै पढाइ पनि अगाडि बढाउन पर्ने हुटहुटी र चुनौती । त्यसैले कोटेश्वर बहुमुखी क्याम्पसमा कक्षा ११ मा भर्ना भएपछि कामको खोजी गर्न लागे । त्यो दुई वर्षले मेरो स्वाभिमान र राजनीतिक चेतनाको परीक्षा थियो । साना तिना जागिर गर्दै पढ्न लागे र आफ्नो खर्च व्यवस्थापन आफैँ गर्न लागेँ ।
पहिलो संविधान सभाको चुनावपछि नयाँ संविधानको चर्चा सहरमा थियो र क्याम्पसमा राजनैतिक चहलपहल पनि । परिवारको सामाजिक र राजनैतिक चेतना प्रजातान्त्रिक भएकोले मलाई क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका कार्यक्रमहरूमा संलग्न हुन मन लाग्यो र विभिन्न कार्यक्रमहरूमा सहभागी हुन लागे । यससँगै मेरो व्यावसायिक र राजनैतिक गतिविधिले गति लिन लाग्यो र पार्टी प्रतिको आस्था झनै बलियो हुन लाग्यो ।
पढाई र व्यावसायिक यात्रा
+२ पास गरेसँगै मलाई आफ्नै व्यवसाय सुरु गर्नु पर्छ भन्ने लागेर एउटा कोठामा आफ्नै डेरी पसल सञ्चालन गर्न लागेँ, २०७१ सालमा । अनि पढाइलाई पनि अगाडि बढाउन पशुपति बहुमुखी क्याम्पसमा भर्ना भएँ ।
व्यवसाय र पढाइको बीच आफ्नो राजनैतिक यात्रा लाई पनि अगाडि बढाउँदै पशुपति क्याम्पसको नेपाल विद्यार्थी सङ्घको इकाई सदस्य को रूपमा निर्वाचित भए। २०७२ सालको भूकम्प पछि सारा देशको अर्थव्यवस्था एक किसिमले शिथिल भयो र विरासत को नाममा केवल राजनैतिक चेत लिएर शहर पसेको मलाई आफ्नो व्यवसाय टिकाइरहन चुनौती थियो।
युगकवि सिद्धिचरण श्रेष्ठले लेखेका यी हरफ: "ती अविरल परिश्रमी पतकर
द्रुतगामी निर्झर तुल्य चपल
बहँदै वन-वनमा चारैतिर
खोज्दा हुन् मेरो पदको पथ"
युगकविका यी हरफलाई जिन्दगीको मुख्य मन्त्र बनाई विचलित नभई परिश्रम निरन्तर राखे ।
आज युवाहरू केही हजार कमाउने हुटहुटी र बाध्यताका बीच खाडीको तातो हावा खान विवश छन् । देशमा निराशाको व्यापार बढेको छ, केही स्वार्थी तत्त्व देशको अव्यवस्थित राजनीतिलाई देश नै भासिन थाल्यो भन्ने भाष्य बनाउन उद्धत छन् । तर पूर्वी नेपालको एक ग्रामीण भेगमा जन्मेर, सशस्त्र द्वन्द्व तथा चरम आर्थिक अभावमा आफ्नो बाल्यकाल बिताएको म अहिले आफ्नो उद्यमले १९ जना लाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छु ।
२०७७ सालमा आफ्नो डेरी सञ्चालनमा ल्याएपछि अहिले मैले पूर्वी तराईका १४ जिल्लाका किसानहरूसँग सहकार्य गरेर उहाँहरूको जीवनस्तर सुधार्न केही योगदान गरिरहेको छु ।
बीपीको समाजवादलाई व्यवहारमै उतार्ने प्रयास गरिरहेको छु र व्यापारको साथ-साथै राजनीति तथा समाज सेवालाई अगाडि बढाइरहेको छु ।
खुला अर्थतन्त्रको जगमा आफ्नो व्यवसाय विस्तार गर्दै आर्थिक-सामाजिक विकासमा लागिरहने विचार अझ सशक्त हुँदै गइरहेको छ । देशमा केही छैन भन्ने भाष्य अलिकति पनि चिर्न सके म आफूलाई सही बाटोमा हिँडेको मान्नेछु ।