कैलाली कारागारकाे ‘सीसीटीभी फुटेज’ स्पष्ट देखिएन : छानबिन समिति
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
595
Shares
फाइल तस्बिर
सुदूरपश्चिम। कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ ।
उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारको आन्तरिक प्रशासनमा मतभेद सिर्जना भई घटना भएको देखिएको बताए ।
उनले भने, “घटनास्थलको अध्ययन गरी घाइते कैदीबन्दी, कारागारको वस्तुस्थिति, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, प्रशासकसँग कुराकानी गर्याैँ, बन्दीगृहभित्र रहेको ‘ए ब्लक’ र ‘बी ब्लक’ बीचको आन्तरिक प्रशासनबीच मतभेद सिर्जना भएको देखिन्छ ।”
घटनाको थप तथ्य बाहिर ल्याउन विशेषज्ञसहितको उच्चस्तरीय छानबिनको आवश्यकता देखिएको जोशीको भनाइ छ ।
उनले भने, “घटनास्थलको अध्ययनका क्रममा ‘सीसीटीभी फुटेज’ स्पष्ट देखिएन, घाइतेले भनेबमोजिमका व्यक्तिले घटनामा संलग्नता अस्वीकार गरेको र उनीहरूसँगको कुराकानीका आधारले मात्रै पुष्टि हुने आधार नदेखिएकाले विशेषज्ञसहितको उच्चस्तरीय समिति आवश्यक देखिएको छ ।”
समितिलाई १० दिनको समय दिइएकामा अध्ययन प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाएको छ ।
गत साउन २३ गते कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ४९ कैदीबन्दी घाइते भएका थिए । गम्भीर घाइते तीन जनाको काठमाडौँमा अझै उपचार भइरहेको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइरहेकामध्ये ४१ जना ‘डिस्चार्ज’ भइसकेका छन् ।
उनीहरूमध्ये तीन जनालाई कञ्चनपुर कारागार र एक जनालाई नवलपरासी कारागारमा स्थानान्तरण गरिएको छ ।
अस्पतालले डिस्चार्ज भने पनि धेरै कैदीबन्दी अस्पतालमा नै बसिरहेका छन् ।
उनीहरूले इच्छाएको कारागारमा स्थानान्तरण गरेर व्यवस्थापन गर्ने काम भइरहेको जनाइएको छ ।
घटनापछि सरकारले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता बोलाएर कृष्णप्रसाद लम्साललाई खटाएको छ ।
यसैगरी, कारागार शाखा प्रमुखमा पनि नयाँ व्यक्ति खटाइएको छ । १५० जना अटाउने कैलाली कारागारमा हाल ६९७ कैदीबन्दी छन् । रासस