नेपालमा घट्दै वैदेशिक सहायता: अनुदान र ऋण दुवै लक्ष्यभन्दा कम
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
410
Shares
काठमाडौँ। नेपालमा वैदेशिक सहायता, दुवै अनुदान र ऋण, लक्ष्यभन्दा कम प्राप्त हुँदै गएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले यो अवस्था देखाएको हो।
आर्थिक वर्ष २०८१/८२ मा सरकारले ५२ अर्ब ३३ करोड अनुदान प्राप्तिको लक्ष्य राखेकोमा जम्मा २३ अर्ब ५३ करोड मात्रै प्राप्त भएको छ। यो लक्ष्यको ३२.६२ प्रतिशत मात्र हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने लक्ष्यको ४९.०८ प्रतिशत (४९ अर्ब ९४ करोडमध्ये २४ अर्ब) प्राप्त भएको थियो। यसअनुसार, अघिल्लो वर्षको तुलनामा यस वर्ष अनुदान प्राप्ति २.०४ प्रतिशतले घटेको छ।
आर्थिक वर्ष २०८१/८२ मा सरकारले २ खर्ब १७ अर्ब वैदेशिक ऋण लिने लक्ष्य राखेकोमा १ खर्ब २५ अर्ब ४० करोड मात्रै लिन सफल भएको छ। यो लक्ष्यको ५७.७८ प्रतिशत हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सरकारले २ खर्ब १२ अर्बको लक्ष्य राखेकोमा १ खर्ब २५ अर्ब ६६ करोड (५९.०७ प्रतिशत) ऋण लिएको थियो। यस वर्ष ऋण प्राप्ति ०.२१ प्रतिशतले घटेको छ।
आर्थिक वर्ष २०८१/८२ मा कुल २ खर्ब ६९ अर्ब वैदेशिक सहायताको लक्ष्य लिइएकोमा १ खर्ब ४८ अर्ब मात्रै प्राप्त भएको छ, जुन लक्ष्यको ५५.१५ प्रतिशत हो। अघिल्लो वर्ष २०८०/८१ मा २ खर्ब ६२ अर्बको लक्ष्यमा १ खर्ब ४९ अर्ब ६७ करोड (५६.९८ प्रतिशत) प्राप्त भएको थियो। यस वर्ष कुल वैदेशिक सहायता प्राप्ति ०.४९ प्रतिशतले घटेको छ।