काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला रोग उन्मूलन भएको घोषणा गरेको छ। यो सफलतासँगै बालबालिकाको ज्यान जोखिममा पार्ने यो रोगबाट नेपाल मुक्त भएको छ। विश्व स्वास्थ्य सङ्गठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालको यस उपलब्धिको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बधाई दिएको छ।
सङ्गठनका दक्षिण-पूर्वी एसिया कार्यालय प्रमुख डा. क्याथरिना बोएह्मले मन्त्रालयलाई पत्र पठाएर बधाई दिएकी हुन्। नेपालले लामो समयदेखि यस रोगको उन्मूलनका लागि गरेको प्रयासको मूल्याङ्कन गरी यो घोषणा गरिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत यो ऐतिहासिक उपलब्धिमा संलग्न सबै स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र विकास साझेदारहरूलाई धन्यवाद दिएका छन्। मन्त्री पौडेलले यस उपलब्धिको दिगोपना कायम राख्न र भविष्यमा यस्ता रोगहरूबाट बालबालिकालाई सुरक्षित राख्न निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग निगरानी प्रणालीको सुदृढीकरण तथा निवारणपछिको कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।