विज्ञापन नियम उल्लंघन गरेको भन्दै क्यानलाई बोर्डको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
665
Shares
काठमाडौँ। विज्ञापन बोर्डले प्रचलित ऐन, कानुन र नियमविपरीत विज्ञापन प्रसारण गरेको भन्दै नेपाल क्रिकेट सङ्घ (क्यान) लाई सचेत गराएको छ।
गत मङ्सिर १५ देखि पुस ६ सम्म आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरू विदेशी कम्पनी ‘फर्स्ट सेन्चुरी मिडिया’ मार्फत स्टार स्पोर्ट्स च्यानलमा विज्ञापनसहित प्रसारण गरिएको र जुवा खेलाउने साइटहरूको समेत प्रचार गरिएको भन्ने उजुरीपछि बोर्डले यो निर्णय गरेको हो।
बोर्डका प्रवक्ता तथा प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार, क्यानले बोर्डका पटक-पटकका पत्रको चित्तबुझ्दो जवाफ नदिएपछि यो कदम चालिएको हो। बोर्डको निर्देशनलाई बेवास्ता गरे भविष्यमा विज्ञापन गर्न वा गराउनबाट रोक्का राख्नेसम्मको चेतावनी दिइएको छ।
त्यस्तै, बोर्डमा सूचीकृत नभई कानुनविपरीत विज्ञापन कारोबार गर्ने एजेन्सीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने र तीन महिनासम्म विज्ञापन कारोबारमा रोक लगाउने निर्णय गरिएको छ। यस अवधिमा ती एजेन्सीहरूलाई बोर्डमा सूचीकरण पनि गरिने छैन।
बोर्डले ब्राण्ड डिजिटल लजिक प्राली र टिसिएम स्पोर्टस एन्ड मार्केटिङ प्राली सँग कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न/नगराउन सबै विज्ञापनदाता र सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।