arrow

फैसला कार्यान्वयनमा गृहमन्त्री लेखक आक्रामक, फरार अभियुक्त पक्राउमा ६५ प्रतिशतले वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
ramesh-lekhak-81-8-9.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानूनी सुधारलाई प्राथमिकता राखेका गृहमन्त्री रमेश लेखकले फैसला कार्यान्वयन पनि आक्रमक रुपमा अघि बढाएका छन् ।

मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद र जरिबाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई सक्रिय बनाएकै कारण मन्त्री लेखकको कार्यकालको पहिलो वर्ष (गत आर्थिक वर्ष २०८१/०८२) मा हालसम्मकै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ परेको तथ्याङ्कले देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा देशभरबाट कुल १४ हजार ७६४ जना फरार अभियुक्त नेपाल प्रहरीले पक्राउ गरेको थियो । अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा गृह प्रशासनको सक्रियताका कारण २४ हजार ३८२ जना फरार अभियुक्त पक्राउ गरिएको छ । 

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६५.०८ प्रतिशतले बढी हो । त्यसैगरी प्रहरीले आर्थिक वर्ष २०७९/०८० मा ११ हजार ९०२ जना फरार अभियुक्त पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । 

गत आर्थिक वर्षमा अपराध अनुसन्धान र फैसला कार्यान्वयनमा गृह मन्त्रालय र मातहतको निकाय सक्रिय रहँदा परिणाम उत्कृष्ट आएको हो ।

गृहमन्त्री लेखकको कार्यकालको पहिलो वर्ष (गत आर्थिक वर्ष २०८१/०८२ ) मा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सबैभन्दा बढी ६ हजार ३७५ जना फरार अभियुक्त पक्राउ गरेको देखिएको छ ।

त्यसैगरी कोशी प्रदेश प्रहरीले ३ हजार ४ सय ८९, मधेश प्रहरीले ५ हजार ७१२, बाग्मती प्रदेश प्रहरी १ हजार ७ सय ३, गण्डकी प्रदेश प्रहरी १ हजार ४ सय ९१, लुम्बिनीले ३ हजार ९ सय ९६, कर्णाली प्रदेशले ५ सय ५६, सुदूरपश्चिम प्रदेशले ९ सय २८ र केन्द्रीय अनुसन्धान ब्यूरोले १३२ जना फरार अभियुक्त पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा रु एक अर्ब, ५० करोड भन्दा बढी जरिबाना रकमसमेत असुल उपर गरेको छ ।

त्यसैगरी जिल्ला स्तरको फैसला कार्यान्वयनको विवरण हेर्दा काठमाडौँ प्रहरी परिसर अग्रस्थानमा छ । जनघनत्व बढी भएको राजधानी काठमाडौँमा हरेक दिनजसो ठूला र साना अप्रेशन चलाइरहेका काठमाडौँ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले काठमाडौँबाट मात्रै ५ हजार ५ सय ८५ जना फरार अभियुक्तलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएका छन् ।

उपलब्धि शान्ति सुरक्षामा भने सीमित छैन । जनशक्ति अभाव र सीमित स्रोतसाधनको अधिकतम प्रयोग गरी अधिकारीले फैसला कार्यान्वयनमा पनि जबरजस्त उपलब्धि हासिल गरेका छन् ।

काठमाडौँ प्रहरी परिसरले गत आर्थिक वर्षमा देशभरमै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ गर्न सफल भएको रेकर्ड छ । एक वर्षको अवधिमा परिसरले काठमाण्डौंबाट मात्रै ५ हजार ५ सय ८५ जना फरार अभियुक्तलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जानकारी दिए ।

“काठमाडौँ परिसरले आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ६७ जना फरार अभियुक्त पक्राउ गरेको थियो ।” उनले भने–“अहिले त्यो संख्या वृद्धि गरेर ५ हजार ५ सय ८५ पुर्याउन काठमाडौँ प्रहरी परिसर सफल भएको छ ।”

उनले आफूहरु फैसला कार्यान्वयनलाई परिसरले विशेष रणनीति बनाएर लागू गरिरहेको जानकारी दिए । नेपाल प्रहरी संगठनको बार्षिक कार्य सम्पादन सम्झौता अनुसार दण्डहीनताको अन्त्यका लागि फैसला कार्यन्वयनलाई उच्च प्राथमिकतामा समेत राखिएको छ ।

त्यस्तै गृहमन्त्री लेखकको कार्यकालको पहिलो वर्ष सहकारी सम्वन्धी ८२ वटा मुद्दा दर्ता भएका छन् । 

सहकारी प्रकरणमा विभिन्न राजनीतिक दलका उच्च तहका नेताहरु समेत कानूनको दायरामा आएका छन् । मुलुकभरबाट सहकारी मुद्दाका पुरुष र महिला गरी ४५ जना पक्राउ परेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ