सरकारी छपाइको काम अब सुरक्षण मुद्रण केन्द्रले गर्ने: मन्त्री गुरुङ
देशभर फाइभजी सेवा विस्तारको तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
656
Shares
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षदेखि बैंक नोटबाहेकका सबै सरकारी छपाइका काम सुरक्षण मुद्रण केन्द्रले गर्ने बताएका छन्। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हुलाक टिकट, स्मार्ट कार्ड, अध्यागमनसम्बन्धी कागजात, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीलगायत सबै छपाइको जिम्मा केन्द्रलाई दिइने जानकारी दिए।
मन्त्री गुरुङका अनुसार, हाल २८ लाख ड्राइभिङ स्मार्ट कार्डहरू छपाइ भइरहेका छन्। यद्यपि, यो वर्षको ६४ लाख राहदानी भने परराष्ट्र मन्त्रालयको निर्णयअनुसार बाहिरी संस्थालाई छपाइको जिम्मा दिइएको उनले बताए। यो काम नेपालका लागि एउटा ठूलो उपलब्धि भएको उनको भनाइ छ। बैंक नोट छपाइका लागि भने छुट्टै मेसिन आवश्यक पर्ने भएकाले त्यसको प्रक्रिया पनि छिट्टै सुरु गरिने उनले जानकारी दिए।
मन्त्री गुरुङले आगामी माघ महिनादेखि नेपालमा फाइभजी सेवा कार्यान्वयनमा ल्याउने तयारी भइरहेको पनि बताए। प्रधानमन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा माघभित्रै यो सेवा सञ्चालनमा ल्याउने उल्लेख भएको उनले जानकारी दिए।
यस वर्ष काठमाडौँ र पोखराबाट फाइभजी सेवा सुरु गरिने र अर्को वर्ष सबै महानगरमा विस्तार गर्ने गरी काम अगाडि बढाइएको मन्त्री गुरुङको भनाइ छ। यसरी नै बिस्तारै देशभर फाइभजी सेवा पुर्याउने योजना रहेको उनले बताए।