arrow

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी पूरा, सोमबारदेखि शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
hindakushmeet.jpg

काठमाडौँ। हिन्दुकुश हिमालय क्षेत्रमा पर्ने मुलुकका सांसदहरूबीच साझा धारणा बनाउन र समन्वय गर्न ‘हिन्दुकुश हिमालय संसदीय बैठक’ सोमबारदेखि काठमाडौंमा शुरु हुँदैछ। संघीय संसद, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले आयोजना गरेको यो दुईदिने बैठकको सम्पूर्ण तयारी पूरा भएको छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको प्राविधिक सहयोगमा हुन लागेको यस बैठकमा नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिहरूको सहभागिता रहनेछ। अफगानिस्तानलाई भने हालसम्म नेपालले मान्यता नदिएकाले आमन्त्रण गरिएको छैन।

बैठकको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि तथा सभामुख देवराज घिमिरे विशिष्ट अतिथि रहनेछन्। उद्घाटनपछि जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधता लगायतका विषयमा विभिन्न प्राविधिक सत्रहरू सञ्चालन हुनेछन्।

आयोजक समितिका संयोजक वीरबहादुर बलायरले हिन्दुकुश क्षेत्रमा जलवायु परिवर्तनको असर, जोखिम र अवसरबारे गहन छलफल हुने बताए। विश्वव्यापी रूपमा जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषणजस्ता समस्या बढिरहेको सन्दर्भमा यस क्षेत्रका सांसदहरूलाई एउटै मञ्चमा ल्याएर साझा धारणा बनाउने प्रयास गरिने उनको भनाइ छ।

समितिका सभापति कुसुमदेवी थापाले यस बैठकले नीति निर्माण र दिगो विकासका लागि ज्ञान तथा अनुभव आदानप्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिन्। उनले राजनीतिक र संसदीय नेतृत्वको छलफलबाट आउने निष्कर्षले सम्बन्धित देशहरूको जलवायु नीति र कार्बन उत्सर्जन न्यूनीकरणका लागि महत्त्वपूर्ण योगदान पुर्याउने बताइन्।

हिन्दुकुश हिमालय क्षेत्रले करिब दुई अर्ब मानिसलाई पानी, खाना र ऊर्जा उपलब्ध गराउँदै आएको छ। तर, जलवायु परिवर्तन, प्रदूषण र तीव्र सामाजिक-आर्थिक परिवर्तनका कारण यो क्षेत्रले गम्भीर संकटको सामना गरिरहेको छ। बैठकले यी ज्वलन्त मुद्दाहरूलाई राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी मञ्चमा प्रभावकारी रूपमा उठाउने संकल्प गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ