काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणको नाफा आर्थिक वर्ष २०८१/८२ मा घटेको छ। प्राधिकरणका अनुसार, यो वर्ष नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ भएको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम हो। गत वर्ष प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो।
कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नाफामा कमी आउनुका विभिन्न कारण बताए। उनका अनुसार, विदेशी मुद्रा (जापानी येन) को अधिमूल्यनका कारण २.५ अर्ब रुपैयाँ र डेडिकेटेड लाइन तथा सरकारसँगको बक्यौताको हिसाब मिलाउँदा साढे ५ अर्ब रुपैयाँ नोक्सान भएको छ। यसबाहेक, प्रशासनिक खर्चमा वृद्धि र औसत विद्युत् बिक्री मूल्यमा कमी आउँदा पनि नाफा घटेको हो। यद्यपि, उहाँले आगामी वर्ष नाफा बढ्ने दाबी गरे।
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा नेपालको राष्ट्रिय विद्युत् प्रणालीको कुल जडित क्षमता ३,५९१ मेगावाट पुगेको छ। यस वर्ष कुल १५,६४१ गिगावाट घण्टा विद्युत् उपलब्ध भएकोमा ३४ प्रतिशत प्राधिकरण र यसका सहायक कम्पनीहरूबाट, ५५ प्रतिशत स्वतन्त्र उत्पादकहरूबाट र ११ प्रतिशत भारतबाट आयात गरिएको थियो।
नेपालको आन्तरिक विद्युत् खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११,३१९ गिगावाट घण्टा पुगेको छ। राष्ट्रिय ग्रिडमा विद्युत् पहुँच करिब ९८ प्रतिशत पुगेको छ भने विद्युत् चुहावटमा ०.४७ प्रतिशतले कमी आएको छ।
आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल ४३४ मेगावाट विद्युत् उत्पादन क्षमता थप भएको छ। यो वर्ष प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।