सुदूरपश्चिममा ओल्के पर्वको हर्षोल्लास, प्रदेशभर सार्वजनिक बिदा
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
710
Shares
बैतडी। आज भदौ १ गते, सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व हर्षोल्लासका साथ मनाइँदैछ। 'ओल्को'को शाब्दिक अर्थ उपहार वा कोसेली हो। यस पर्वमा आफूभन्दा ठूलाबडा, मान्यजन र ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको पात, फलफूल, सागपात र मीठो-मसिनो परिकार दिने चलन छ।
संस्कृतिका जानकार जयानन्द भट्टका अनुसार, वर्षापछि आउने सङ्कटबाट बचेको र नयाँ जीवन प्राप्त भएको खुशियालीमा यो पर्व मनाउने गरिन्छ। यस दिन हातमा मेहन्दी लगाउने, मीठा परिकार खाने र आफन्तलाई कृषिजन्य उत्पादन तथा पकवानहरू उपहार दिने परम्परा रहेको छ। धेरै ठाउँमा मन्दिरमा अन्न चढाएर ओल्को हाल्ने गरिन्छ।
पण्डित दयाकृष्ण पन्तले ओल्को पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट नभई यस क्षेत्रको मौलिक र जेठो पर्वका रूपमा रहेको बताए। यो पर्वले ठूलालाई सम्मान र सानालाई माया गर्ने सन्देश दिने उनको भनाइ छ।