arrow

पुस्तक अंश

नेपालमा माओवादीको उदय र अन्त्य

logo
नोमबहादुर जीसी,
प्रकाशित २०८२ साउन ३१ शनिबार
nombahadur-gc-82-4-31.jpg

यति लामो आक्रमण र हत्याबाट यो सिद्ध हुन्छ कि मानव संसारबाट छुट्टिएर माओवादी दानवरूपी संसारमा बस्न चाहन्छन् । उनीहरूको कुनै जात, धर्म, संस्कृति, परम्परा, कुनै राज्य नै हुँदैन । त्यस्ता लाई भनिन्छ “आतंककारी” ।

यसरी आतंककारी शैलीबाट करिब सत्र हजार निर्दोष सेना, प्रहरी, शसस्त्र प्रहरी, शिक्षक, सर्वसाधारण जनता, पत्रकारलाई हत्या गरेर भए पनि “महान् परिवर्तन“ गर्ने लक्ष्य राखेर हिँडेको माओवादीलाई अघोषित रूपमा देशका जनताले मौन समर्थन दिएका थिए । 

किनकि जनता माओवादी युद्धबाट भयभित भएका थिए । वि.सं. २०६३ मा अन्तरिम संविधान जारी भयो । २०६२–६३ को दोस्रो जनआन्दोलनमा ७ राजनीतिक दल र माओवादी मिलेर विशाल आन्दोलन गरे । 

२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भयो । २०६४ चैत २८ गते पहिलो संविधान सभाको चुनाव भयो । उक्त चुनावमा नेकपा माओवादी पार्टी पहिलो ठूलो राजनीतिक दल बन्यो ।

उक्त नेकपा माओवादीको सरकारले संविधान जारी गर्न सकेन । फलतः नेपालमा सम्पूर्ण राजनीतिक दलहरू पूर्णतः असफल भइसकेपछि, सम्पूर्ण राजनीतिक दलहरू मिलेर तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाई २०७० मंसिर ४ गते दोस्रो संविधान सभाको निर्वाचन गर्न जिम्मा दिएको दिनबाट नै नेपालमा माओवादीको अन्त्य भएको निष्कर्ष छ ।

साँच्चै भन्नुपर्दा जुनबेला माओवादी संसदीय व्यवस्थाभित्र विस्तृत शान्ति सम्झौता मार्फत प्रवेश गरेर सरकारको भागबण्डा खान पुँजीवादी, भ्रष्ट, दलाल तन्त्रमा परेर भौतिक सुख–सुविधामा लिप्त भए, त्यसबेलादेखि नै माओवादीको अन्त्य भयो । 

माओवादीले जुन महान् विचार र उद्देश्य लिएर हिँडेको थियो, त्यो सत्तामा पुगेपछि पूरा गर्न नसकी भौतिक सुख–सुविधामा प्रवेश गर्यो ।

त्यो लामो संघर्ष र कठोर परिश्रमबाट जनयुद्धबाट उदाएको जनमोहित देखिएको माओवादी भारतलगायत पश्चिमाको परिबन्धमा परी संविधान बनाउन साटो सहमतिको दस्तावेज २०७२ असोज ३ गते जारी गरेर नेकपा माओवादीले नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी सबैलाई समेत दलदलमा फसायो र बाँचुन्जेल जिन्दगीमा माथि उठ्ने औकात मेटायो ।

तसर्थ यिनै सम्पूर्ण राजनीतिक दलले गरेको कुकर्म, अन्याय, अत्याचार, भ्रष्टाचार, आतंककारी शैलीको शासन पद्धतिबाट दिक्क भएर नै २०८१ साल फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ हवाईमार्गद्वारा आउँदा हजारौँ जनता सडकमा स्वागतका लागि उत्रेका हुन् ।

यसरी नेपालमा माओवादी पार्टीको उदय र अन्त्य भए सँगसँगै नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा पार्टीको पनि अस्तित्व नरही अन्त्य भएको स्पष्ट महसुस गर्न सकिन्छ । किनकि सत्य र सभ्य शैलीमा शान्तिपूर्ण जनसभा गर्नबाट रोकतोक गरी पक्राउ गरी थुनामा राख्ने सरकार अवैध सरकार हो । यसले नेपाल र नेपालीको अस्तित्व नै मेटाउन सक्छ । (जीसीको ‘स्थिर राजनीति अपरिहार्य’ को पुस्तक अंश, यो पुस्तक शनिबार काठमाडौँमा विमोचित हुँदैछ)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ