लहरेपौवामा बस दुर्घटना हुँदा २० जना घाइते, गम्भीर छलाई काठमाडौँ पठाइयो
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
712
Shares
त्रिशूली । रसुवाको गत्लाङबाट काठमाडौँ जाँदै गरेको बस बिहीबार उत्तरगया गाउँपालिका–५ लहरेपौवामा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
घाइतेमध्ये अवस्था गम्भीर भएका छ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको त्रिशूली अस्पतालका निमित्त निर्देशक सन्देशराज उपाध्यायले जानकारी दिए । उनका अनुसार बाँकी १४ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।
घाइते भएकामध्ये अधिकांशको टाउको, छाती, हात र खुट्टामा चोट लागेको छ । तीमध्ये अवस्था सामान्य रहेका पाँच जनालाई घर पठाइने र बाँकीलाई भर्ना गरिने डा उपाध्यायले जानकारी दिए ।
रसुवाको गत्लाङबाट काठमाडौँ जाँदै गरेको बा४ख ८४३५ नम्बरको बस अपराह्न लहरेपौवामा दुर्घटना भएको रसुवा प्रहरीले जनाएको छ । ओरालो र घुम्ती सडक तथा पानी परिरहेको समयमा गति तीव्र भएकाले बस दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।
दुर्घटनापश्चात सडकबाट ३० मिटर तल पुगेको बस लहरेपौवास्थित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको घरको आडमा पुगेर रोकिएको थियो । रासस