कथाकली नृत्यमार्फत भारतीय स्वतन्त्रता दिवसको सम्झना
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
392
Shares
वीरगञ्ज । भारतको ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा बुधबार भारतीय कला संस्कृति झल्किने ‘कथाकली’ नृत्य प्रस्तुत गरिएको छ ।
काठमाडौँस्थित भारतीय दूतावास र भारतको महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा बुधबार बेलुका यहाँ नृत्य प्रस्तुत गरिएको हो ।
भारतको केरला राज्यमा निकै प्रख्यात मानिएको महाभारतको कथामा आधारित कथाकली नृत्यु केरलाबाट आएका नौ जना कलाकारले प्रस्तुत गरेका थिए ।
यहाँ उपस्थित मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धबारे चर्चा गरेका थिए । “नेपाल र भारतबीच सदियौँदेखि सांस्कृतिक र भावनात्मक सम्बन्ध रहँदै आइरहेको छ”, उनले भने, “जसकारण दुवै मुलुकबीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आइरहेको छ । यसलाई थप सुदृढ गर्दै आपसी सद्भाव र सामजञ्यता कायम गर्न आवश्यक छ ।”
भारतको महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिणाले भारत र नेपालबीच सदियौँदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध कायम रहँदै बताए । “भारतीय स्वतन्त्रता आन्दोलनमा पनि नेपालका तर्फबाट उल्लेखनीय भूमिका निर्वाह गरिएको छ”, उनले विगत स्मरण गर्दै भने, “दुवै मुलुकबीच भाइचारा र सांस्कृतिक आदानप्रदान हुँदै आइरहेको छ । यो निकै प्रशंसनीय कार्य हो । यस सम्बन्धलाई अझै प्रगाढ बनाउन भारत प्रतिबद्ध छ ।”
कार्यक्रम इन्डियन काउन्सिल फर कल्चरल रिलेसनको संयोजनमा भएको हो ।