काठमाडौँ । डियरवाक लर्निङ सेन्टरले ३५०० भन्दा बढी निःशुल्क अनलाइन कक्षाहरू उपलब्ध रहेको डीएलसी एपको शुभारम्भ गरेको छ । उक्त एपमा विगत लामो समयदेखि डीएलसीले आफ्नो वेबसाइट dlc.dwit.edu.np मार्फत् निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको कक्षा ४ देखि ११ सम्मका नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा सामाजिक विषयका ३५०० भन्दा बढी अनलाइन कक्षाहरू उपलब्ध रहेका छन् ।
काठमाडौँको सिफलमा अवस्थित डियरवाक ग्रुप लिमिटेडद्वारा सञ्चालित डियरवाक लर्निङ सेन्टरले दक्ष शिक्षकको अभाव भएका विद्यालयहरूमा अध्ययनरत र गुणस्तरीय शिक्षाबाट बञ्चित सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूमाझ निःशुल्क गुणस्तरीय शिक्षा पुर्याउने उद्देश्यले पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरद्वारा निर्मित पाठ्यक्रममा आधारित रहेर निर्माण गरेका फ्लिप्ड कक्षाहरूलाई कक्षागत, विषयगत तथा पाठगत रूपमा सङ्गठित गरी विद्यार्थी तथा शिक्षकहरूका लागि सहज र सरल रूपमा खोज्न तथा सिक्न सहज होस् भन्ने हेतुले उक्त एपको शुभारम्भ गरेको जनाएको छ ।
डियरवाक ग्रुप लिमिटेडका अध्यक्ष हितेश कार्कीले हालसम्म निर्मित भिडियो कक्षाहरूबाट कक्षा ४ देखि ११ सम्म अध्ययन अध्यपन गर्ने ५० लाखभन्दा बढी विद्यार्थी तथा शिक्षकहरू लाभान्वित भइसकेको जानकारी दिँदै आगामी दिनमा कक्षा १२ तथा स्नातक तहका भिडियो पनि निर्माण गरी निःशुल्क वितरण गरिने बताए ।