टेम्पु, रिक्सा र मोटरसाइकल आपसमा ठोकिँदा एककाे मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
508
Shares
सप्तरी । सप्तरीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक दम्पती घाइते भएका छन् ।
जिल्लाको शम्भुनाथ नगरपालिका-८ पोखरियास्थित भित्री सडकखण्डमा टेम्पु, रिक्सा र मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका-२ कनकपटी बस्ने अन्दाजी २४ वर्षीयका अजयकुमार चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । गम्भीर घाइते भएका उनलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा टेम्पु चालक शम्भुनाथ नगरपालिका-८ पोखरिया बस्ने ४५ वर्षीय मणिलाल मण्डल र उनकी ४० वर्षीया पत्नी आशादेवी मण्डल घाइते भएको प्रहरीको भनाइ छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ स १०२५ नम्बरको टेम्पु रिक्सा र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०१-००५ प ५७३३ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको थियो । रासस