प्रदेश सरकारका निर्णयलाई पारदर्शी बनाइनेछः मुख्यमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
672
Shares
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारका हरेक निर्णयलाई पारदर्शी बनाइने बताएका छन् । पोखरास्थित प्रदेश प्रेस रजिष्ट्रार कार्यालय उद्घाटन गर्दै उनले मन्त्रिपरिषद् बैठकका निर्णय २४ घण्टाभित्र सार्वजनिक गर्ने गरिएको बताए ।
“चौबीस घण्टाभित्र र २४ घण्टापछि सार्वजनिक गर्नुपर्ने निर्णय सोहीअनुसार हुन्छ, मन्त्रिपरिषद् बैठकले गर्ने निर्णयबारे पत्रकारले पनि चासो दिनुपर्छ”, मुख्यमन्त्रीले भने, “कुनै कारणले लुकेको सूचना पनि मिडियामार्फत बाहिर ल्याउँछ ।”
मन्त्रिपरिषद्ले गरेका निर्णयलाई थप पारदर्शी बनाउँदै लगिने उनको भनाइ छ । मुख्यमन्त्रीले प्रेस रजिष्ट्रार कार्यालयलाई प्रदेश सरकारले कुनै खालको हस्तक्षेप नगर्ने बताए ।
आमसञ्चार क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रेस रजिष्ट्रार कार्यालयले स्वतन्त्र तबरले काम गर्नुपर्ने उनले बताए ।
“मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेका कारण प्रेस रजिष्ट्रार कार्यालयमाथि प्रदेश सरकारको हस्तक्षेप रहन्छ कि भन्ने आशङ्का उब्जिन सक्छ, तर हामी त्यसो हुन दिँदैनौँ”, मुख्यमन्त्रीले भने ।
सोही अवसरमा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले आमसञ्चार क्षेत्र हेर्ने प्रादेशिक संरचना स्थापना हुनु सखुद पक्ष रहेको उल्लेख गर्दै प्रेस रजिष्ट्रार कार्यालयको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घ, गण्डकी प्रदेश समिति अध्यक्ष रमेश पौडेलले पत्रकार र आमसञ्चार क्षेत्रको सबलीकरणका लागि प्रेस रजिष्ट्रार कार्यालयसँग सहकार्य गर्ने बताए । प्रेस रजिष्ट्रार विमला भण्डारीले कार्यालय स्थापनासँगै वार्षिक कार्यक्रम कार्यान्वयन सुरु भएको जानकारी दिइन् ।