इनरुवा (सुनसरी)। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको बस र माइक्रोबस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।
मृत्यु हुनेमा सप्तरीको महदेवा गाउँपालिका–६ का ३५ वर्षीय शंकर मण्डल, कोसी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र मोरङको विराटनगर–१० का ४० वर्षीय अशोक यादव रहेका छन्। यसबाहेक, अन्दाजी ४५ देखि ५० वर्षकी एक महिलाको पनि ज्यान गएको तर उनको पहिचान खुल्न नसकेको सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।
दुर्घटना काँकडभिट्टाबाट खोटाङको दिक्तेल जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आएको प्र २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएर भएको हो। माइक्रोबसमा १८ जना यात्रु सवार थिए।
घाइतेहरूको सुनसरीको भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल र विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालक झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।