arrow

गाईजात्रा विशेष

दैनिक गाईजात्रा, हरक्षेत्रमा गाईजात्रा

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८२ साउन २५ आइतबार
rajendra-panthi-82-4-25f.jpg

देशमा बहुदलीय व्यवस्था र लोकतन्त्र आएको एउटा युग नै बित्दा पनि विकास, पूर्वाधार र रोजगारका कुरा सुन्नु छैन । जहिले भ्रष्टाचारका काण्डैकाण्ड सुन्नु परिरहेको छ । देशमा जहिले पनि बेमौसमका र बेतालका बाजाहरू बजिरहेका हुन्छन् । सरकार र राजनीतिक दलहरूले अनेक किसिमका गाईजात्रा दिनहुँ देखाइरहेका हुन्छन् । तापनि गाईजात्रा पर्वको सांस्कृतिक र ऐतिहासिक महत्त्व भने रहेकै छ ।

धार्मिक र सांस्कृतिक महत्व

गाईजात्रा विशेषगरी नेवार समुदायले प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने एक ऐतिहासिक एवम् साँस्कृतिक पर्व हो । यस पर्वको शुरूआतका सन्दर्भमा विभिन्न जनश्रुतिहरू छन् । खासगरी राजा प्रताप मल्लले पुत्रशोकमा विह्वल भएकी आफ्नी रानीलाई खुशी राख्न अनेक प्रयत्न गरे तर केही सीप नलागेपछि जसको घरमा मान्छेको मृत्यु भएको छ, त्यस घरबाट रङ्गीचङ्गी कपडा लगाई गाईलाई समेत लिएर जात्रा निस्कन आदेश दिएका थिए ।

त्यसैबेलादेखि गाईजात्रा मनाउन थालिएको हो भनिन्छ । अहिले यो पर्व एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई सिंगारी आआफ्नो क्षेत्रमा परिक्रमा गराउने प्रचलन छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समातेर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास पनि छ । 

प्रताप मल्लको पालादेखि चल्दै आएको यो गाईजात्रा पर्व दु:ख बिर्साउने र हाँस्यव्यङ्ग्य प्रहसन गर्ने चाडका रुपमा पनि मनाउन थालिएको छ । गाईजात्रामा विभिन्न रङ्गीबिरङ्गी र अनौठा किसिमका झाँकीहरू प्रदर्शन गर्ने गरिन्छ । यस पर्वमा अनौठो भेष धारण गरेर हाँसख्याल प्रदर्शन गर्ने,उटपट्याङ् गर्ने गरिन्छ । गाईजात्रामा थरिथरिका नाचहरू नाचिन्छ ।

गाईजात्रामा नाचिने नाचलाई घिन्ताङ्घिसिङ भनिन्छ । गाईजात्रालाई वाक् स्वतन्त्रताको दिनका रुपमा समेत लिने गरिन्छ।यो दिनमा वर्षभरिका राजनीतिक र सामाजिक विकृतिप्रति व्यङ्ग्यप्रहार गर्ने गरिन्छ । यही ऐतिहासिक र साँस्कृतिक पर्वमा प्रदर्शन र प्रहसन  गरिने क्रियाकलापलाई आधारमा समाजमा कसैले रमाइलो,अनौठो र अनपत्यारिलो क्रियाकलाप गर्यो र गरायो भने गाईजात्रा देखाएको छ भन्ने पनि गरिन्छ।

असली गाईजात्रा सरकारको

नेपालमा धार्मिक वा सांस्कृतिक रुपले गाईजात्रा वर्षको एकपटक  मात्र आउँछ भने राजनीतिक रुपमा हरेकदिनजसो गाईजात्रै गाईजात्रा आइरहेकै हुन्छ । देशमा कहिले जिम्मेवार व्यक्तिले र कहिले सरकारले नै अनेक किसिमका मुकुण्डो लगाएर गाईजात्रा प्रदर्शन गरिरहेका हुन्छन् ।

गाईजात्राका अनेक किसिमका तस्बिरहरू नेपाली राजनीतिमा दिनदिनै देखिन्छन् । मेरो सम्झनामा रहेका यस वर्षका केही गाईजात्रे तस्बिरहरू चर्चा गरौँ त ।

दुई चार दिन पहिले हो, इन्टरनेट खोलेर हेर्छु त पहिलो समाचार आयो- सरकारले भाषा आयोगको सदस्यमा नियुक्ति दिएको व्यक्ति फरक परेछ रे, तीन वर्षपछि बल्ल थाहा पायो रे। यहाँभन्दा हाँस्यास्पद र अपराध प्रवृत्ति के हुनसक्छ ? यही हो सरकारको गाईजात्रे अनुहार। 

यहीबाटै स्पष्ट हुन्छ कि हाम्रो राज्य देश र जनताप्रति कति जिम्मेवार र उत्तरदायी छ भन्ने कुरा।के यो सामान्य कमजोरी हो र ? यो ठूलो कमजोरी र राज्यका लागि ठूलो क्षति हो । सरकारले मान्छे फरक परेछ भनेर ङिच्च दाँत देखाएर सुख पाउँदैन । कुनै पनि सरकारी अङ्ग वा सरकारले कानूनभन्दा माथि गएर नेपाली जनताको सार्वभौमसत्तामाथि खेलबाड गर्न पाइँदैन।

सांसदहरुको नालायकी

भर्खरै संघीय संसदमा नेपाली जनताका आशा र भरोसा भनेर चिनिने जनप्रतिनिधिहरूले एउटा लाजको पसारो प्रदर्शन गरेका छन् -कानून बनाउन भनेर राज्यको ढुकुटीबाट तलबभत्ता खाने जनप्रतिनिधिहरू कानून नै नपढी ढ्यापढ्याप गरेर कानून पास गरे । 

थोरै पनि लाज हुन्थ्यो भने २७५ जना सांसदले नै कार्यकुशलमा असक्षमता जनाई पदबाट राजीनामा दिनुपर्ने हो तर नाङ्गिएर एकअर्कालाई दोषारोपण र हिलो छ्यापाछ्याप गर्दै गाईजात्रा देखाइरहेका छन् । 

आज यिनीहरूले आफूलाई जनप्रतिनिधि हुँ भनी लाज पचाएका छन् । नेपालका जनप्रतिनिधिहरूको हैसियत,क्षमता र विवेक राम्रै देखियो । यी जनप्रतिनिधिहरूले जनताप्रति ठूलो अपमान गरेका छन्।यस्तै र यसैले पनि आज लोकतन्त्रप्रति प्रश्न उठिरहेको छ।नेपालको लोकतन्त्रलाई लाजतन्त्र बनाइएको छ ।

एमालेभित्र ‌ओली विद्याको भाँडाकुटी खेल

सरकारको नेतृत्व गरेको दोस्रो ठूलो दल नेकपा एमालेभित्र एउटा गाईजात्राको राम्रो प्रहसन भइरहेको छ । एमालेले आफूले नेतृत्व गरेको सरकारले जनतालाई के कसरी राम्रो काम गरेर देखाउने भन्दा पनि पार्टीको आन्तरिक किचलोमा देशलाई बर्बाद गरिरहेको छ। महिनौं दिनसम्म सिङ्गो राज्य अनावश्यक रुपमा एमालेमा ओली कि विद्या भन्दै समय बर्बाद गरिरहेको छ । 

यो औचित्यहीन बहस हो । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो पार्टीमा फर्कने रहर लाग्यो रे । एमालेले बाटो बन्द गर्यो रे । एमालेमा विद्या भण्डारी गएर हुने के हो र ? केही पनि होइन । कसैले विद्यालाई टपक्क टिपेर ल्याइदिनुपर्ने, कस्तो अचम्मको गाईजात्रा ?  सात वर्ष राष्ट्रपति भएको मान्छे फेरि त्यही गन्हाइरहेको नेपाली राजनीतिमा फर्कन खोज्नुको कारण के हो ? 

राजनीतिमा नौटंकी वा गाईजात्रा भनेको सायद यही होला । नेपाली जनताले विद्या र ओलीको मिलेमतो र हैसियत दुई-दुई पटक संसद विघटन गरेको बिर्सिएका त छैनन् । नेपालको लोकतान्त्रिक इतिहासमा विद्या र ओलीको राष्ट्रपति र प्रधानमन्त्रीको दुईतन्त्र र अहंकार भोगिएकै त हो नि । एमालेमा विद्या र ओलीको विवाद र दिदीवादको पछाडि लागेर नेपाली समाजलाई भ्रम र तरङि्त पार्न खोजिएको मात्र हो । 

यी दुवैको आचरण र क्षमता नेपाली जनताले जानिसके, हेरिसके र भोगिसके । अब यिनीहरूले देशलाई केही योगदान दिन सक्दैनन् । यी असक्षम प्रमाणित पात्रहरू हुन् । यिनीहरूले राजनीतिक रुपमा थप निरन्तरता पाउनु भनेको देशले राजनीतिक र आर्थिक रुपमा थप व्ययभार मात्र पाइरहनु नै हो । एमालेभित्र ‌केवल ओली विद्याको भाँडाकुटी खेल चलिरहेको मात्र हो ।

कांग्रेस बीपीको भन्दा प्रचण्ड र ओलीको

देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस झैँ आन्तरिक किचलोमा गुट र उपगुटको भाडभैलोमा गाईजात्रा देखाइरहेको छ । अहिलेको कांग्रेस त बीपीको भन्दा पनि प्रचण्ड र ओलीको कांग्रेस बनिरहेको छ । सभापति शेरबहादुर देउवा ओलीपछि आफ्नो पालो छँदैछ भनेर ढुक्क छन् । 

नेपाली कांग्रेस ओलीका विरुद्धमा केही बोल्दा आगामी पालो पाइने हैन कि भनेर ओलीको कुकृत्यको रमिता हेरेर साक्षी बसेको छ । कांग्रेसमा देशका समस्याभन्दा पनि आगामी महाधिवेशनमा को सभापति बन्ने भन्ने मै होडबाजी छ । 

कांग्रेसमा पुस्तान्तरणको मुद्दा उठाउँदै महामन्त्री बनेका दुईभाइहरू कुनै बेला संसदमा प्रमाण यहाँ छ भन्दै रन्किएका देखिन्थे तर अचेल पार्टीभित्रै सक्रिय छन् कि निष्क्रिय छन् पत्तो छैन । यिनीहरू कहिले प्रचण्डका पुच्छर बने भने कहिले ओलीका पुच्छर बन्दा ठिक्क छन् । कांग्रेसमा युवा र आशाका केन्द्र भन्नेहरूले पनि आस्था, संगठन, आचरण र क्षमता गफमै सीमित गरे ।

संविधान संशोधन लगायतका काम गर्ने गरी बनेको बलियो दुई दलीय सरकार बकम्फुस गफ र ब्रह्मलुटमा मस्त देखिन्छ । भ्रष्टाचार र घुसपैठमा मन्त्रीहरू भ्रष्टाचारमा बार्गेनिङ गरेका अडियोहरू बाहिरिएका छन् । कांग्रेसका नयाँ पुस्ता र नयाँ अनुहार सहभागी भएको सरकारले यो र यस्तै गलत क्रियाकलापलाई प्रोत्साहन दिएको देखिन्छ । शक्तिशाली महामन्त्री भन्नेहरूले आफ्नो क्षमता देखाउन असफल भएका छन् र अब यी दुई भाइहरू कतै हराएरै जाने त होइनन् भन्ने अवस्थामा पुगेका देखिन्छन् ।

झोले प्रधानमन्त्री 

प्रधानमन्त्री ओलीले यसैवर्ष एउटा च्यातिएको र रित्तो झोला बोकेर आफ्नो हैसियत प्रदर्शन र प्रहसन गरे।उनले आफूलाई झोले हुँ भनेर स्वघोषणा गरी आफ्ना झोलेहरूलाई जयजयकार गर्न लगाए ।

ओलीले यसवर्ष आफू कम्युनिष्ट आन्दोलनको एउटा पात्र हुँ भनी आफूले आफैलाई राम्रै खिल्ली उडाए । जे होस् जनतालाई ओलीले बिना कामको च्यात्तिएको र फुत्तो झोला बोकेर राजनीतिक गाईजात्रा देखाए ।उनको प्रदर्शन र प्रहसनले नेपाली समाज र राजनीति गजबले तात्यो ।

प्रचण्डलाई महाकालेश्वरको आशीर्वाद 

नेकपा माओवादी केन्द्रभित्र पनि परालको आगो सल्किरहेको छ । प्रचण्ड अब नेकपा माओवादी केन्द्र नभएर अब केन्द्रमै मात्रै सीमित हुन लागेका छन् । टुक्राटुक्रा भएको माओवादीमा अब जनार्दनले किन हो कुन्नि अर्को टुक्रा पार्न ढिलो गरिरहेका छन् ।

नेत्रविक्रम चन्द विप्लव फुत्त माओवादीभित्र छिरेर महासचिव पड्काइहालिन्छ कि भन्ने दाउमा बार्गेनिङ गरिरहेका छन् । जनार्दन आउट र विप्लव इन हुन पनि सक्छन् ।उता नारायणकाजीले पूर्व राष्ट्रपतिदेखि कम्युनिस्टका विभिन्न घटकका नेताहरूसित भेटेर केही पकाउन सकिन्छ कि भनेर लागिरहेकै छन् ।

प्रचण्ड मरिचसरि खुम्चेर पनि अझै कहिँकतै महाकालेश्वरको आशीर्वाद पाइन्छ कि भन्दै कहिले समाजवादी मोर्चा र कम्युनिस्टको एकता अनि रविलाई सरकारले प्रतिशोध गरिएको भन्दै गाईजात्रा प्रहसन गरिरहेका छन् । किन खुम्चिस मरिच आफ्नै रागले ।
 

माधव–झलनाथको जुँगाको लडाइँ

पूर्व प्रधानमन्त्रीहरू माधव नेपाल र झलनाथ खनालको जुँगाको लडाइँले पनि राजनीतिक बहस पाएकै छ । नेकपा एमालेमा ओलीको दम्भ र अहंकारमा चित्त बुझाउन नसकेर पार्टी फुटाएकाहरू फुटेको औचित्य पुष्टि गर्न सकेको/नसकेको भन्ने आरोप प्रत्यारोपमा उत्रिरहेका छन् । 

नेपालका धेरै कम्युनिष्ट पार्टीका नेताहरूले आफू कम्युनिष्ट भएको पुष्टि गर्न सकेकै छैनन् । विचरा ! माधवले कसरी सकुन् । उनी आफैँ पतञ्जली जग्गा भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका छन् । पतञ्जलीको प्रकरण हेर्दा त बालुवाटार जग्गा काण्डमा यिनी बचेका मात्र हुन् चोखा हैनन् भन्ने छर्लङ्गै हुन्छ । 

टोलै पिच्छे बोर्ड टाँसेरै मात्र कम्युनिस्ट बन्न सकिँदैन। नेकपा एस जिन्दावाद,भोट के मा रुखमा भनेर पार्टी बलियो हुने अवस्था नै थिएन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथ पाउँदा हर्लक्क जस्तो देखिएको नेकपा समाजवादी अहिले लर्याकलुरुक भएको छ ।

माधव नेपाल र झलनाथ खनाल तँ तँ र म मको अवस्थामा पुगेका छन् । यतातिर पनि राम्रै गाईजात्रा देखिएको छ । सायद अब कि माओवादीमा कि पुरानै एमालेमा नफर्केसम्म यस पार्टी फुटको औचित्य पुष्टि होला जस्तो लाग्दैन।

एयरपोर्टमा मानव तस्कर

नेपालको एयरपोर्टमा त भ्रष्टाचार र मानव तस्कर काण्ड त खासै नौला होइनन् । गृहमन्त्री रमेश लेखकदेखि केही कर्मचारीहरू अहिले पनि भ्रष्टाचारमा आरोपित छन् । संघीय संसदमा रास्वपा र राप्रपाको बहिष्कारको गाईजात्रा देखिएकै छ । रास्वपाको माग न सरकारले सुन्छ न रास्वपा र राप्रपा नै पछाडि फर्कन्छ । आम जनताले संसदको गाईजात्रा हेरिरहनु पर्ने बाध्यता नै छ ।

कुलमानको समय

अलि पहिले उज्यालोको अभियान्ता भनेर चिनिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य अङ्क दिएर उनको समय छ्ँदै सरकारले  हटायो।सिङ्गो राज्य संरचना कुलमानका विरुद्ध जन्मदेखिको बल प्रयोग गर्यो । 

यसले जनतामा सरकारप्रति थप निराशा पैदा गर्‍यो । कुलमान हट्दा बित्तिकै लोडसेडिङकै तालिका बाहिरियो । केही समय नेपाल सरकारले कुलमानका सन्दर्भमा राम्रै गाईजात्रा देखाएर समय बर्बाद गर्यो ।

तर जत्ति कुलमानले आफ्नो नाममा टुनामुना गराएका थिए त्यो त उनले पनि देखाएनन् । खै त आजकल कहाँ छन् कुलमान ? उनलाई बोक्ने माओवादीलाईसमेत छाडेर नयाँ पार्टी खोल्न दैलो चहारिरहेका छन् भन्ने चर्चा छ । कतै बिजुलीका पिता भोटका भोका त भएनन् ?

रविको सहकारी काण्ड र रास्वपाको भविष्य

रास्वपा सभापति रविको सहकारी काण्डले देशलाई लामो समयसम्म तताइरहेकै छ । एमाले र माओवादीले रविलाई काखी च्यापेर सरकारमा पुगे । सरकारमा पुर्याएर मोजमस्ती र रमाइलो गरे । आफ्नो स्वार्थ पूरा नहुँदा हुत्याए । 

नेपाली कांग्रेस रवि भनेकै देशद्रोही र महाभ्रष्टाचारी हो नै झैँ गरेर लागिरहेकै छ । नेपाली जनता रविका बारेमा पाँच जिल्लामा मुद्दा चलिरहँदा पनि पत्याउन सकेका छैनन् । राज्यले करोडौं करोड भ्रष्टाचार गर्नेलाई समात्न सकेको छैन तर सहकारी रकम अपचलनमा प्रत्यक्ष संलग्न नै नभएको रविलाई सरकारले राजनीति प्रतिशोध साँधेको छ भन्ने जनताको आरोप र गुनासो छ । 

जनता पनि अचम्मकै छन् भन्या । आफैँले जम्मा गरेको पैसा ठगी हुँदा पनि जयजयकार गरिरहेकै छन् । अझ रमाइलो त के भने रास्वपाले न्यायालयमा पुगेको कुरालाई हस्ताक्षर अभियान भन्दै जनताको भावनामा खेल खोज्नु पनि गाईजात्रा नै हो ।

रास्वपा बाहिर रविलाई छाड भनेर हस्ताक्षर संकलन गरिरहने उता रवि भने मैले तिर्न पर्ने रकम तिर्छु छाड भनेर बयान पनि दिँदा अर्को गाईजात्रा भएको छ । दोषी नभए किन तिर्ने रैछ र ?

अझ केही दिनअघि त रविलाई काल कोठरीमै राखिएको छ भनेर पनि समाचार आयो । वास्तविकता त उनी आरामदायी कोठामा बस्दा रैछन् । रास्वपाभित्रै पनि रवि बाहिर बसेर भन्दा भित्रै बसेर राजनीति गर्दा ०८४ मा रास्वपालाई बढी फाइदा हुने चर्चा गरिँदैछ । 

यो ०८४ पनि सबै दलको विशेष गाईजात्रे वर्ष नै रैछ । अझै दुई वर्ष के गर्ने होलान् । विपक्षले त ठीकै हो । नालायक सरकारले ०८४ भन्नु अनि कांग्रेस एमालेका कार्यकर्ता किन होला पछि पछि लाग्ने ?

नेपाली जनता राजनीतिक दलहरूको क्रियाकलापप्रति वाक्कदिक्क छन्। देशका मुख्य राजनीतिक दलहरू जवाफदेही बन्न नसक्दा देशले राजनीतिक, सामाजिक र आर्थिक रुपमा ठूलो क्षति बेहोर्नु परेको छ ।

देशका प्रधानमन्त्रीले र जिम्मेवार शक्तिहरू बकम्फुस गफमा समय बर्बाद गरिरहेका छन् । यी गाईजात्रे पद्धतिले देश कहिल्यै उभो लाग्न सक्दैन । देशको मूल समस्या भनेको असक्षम नेतृत्व र भ्रष्टाचार नै हो । देशमा यस्ता किसिमका राजनीतिक गाईजात्रा अति भए । अब विकल्प सोच्नै पर्छ र सोचौँ पनि।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ