धनगढी कारागारको अवस्थाबारे सुरक्षा प्रमुखहरूसँग गृहमन्त्रीको छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
808
Shares
काठमाडौँ। कैलालीको धनगढी कारागारमा कैदीबन्दीहरूबीच भएको झडपपछि उत्पन्न असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।
सिंहदरबारमा भएको छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको उपस्थिति थियो। गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेका अनुसार, सरकारले यस घटनालाई गम्भीरताका साथ लिएको छ र परिस्थितिलाई सामान्य बनाउन सूक्ष्म अनुगमन गरिरहेको छ।
छलफलमा गम्भीर घाइते भएका एक कैदीलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाइएको र हेलिकप्टर उडिसकेको जानकारी दिइएको छ। अन्य घाइतेहरूको पनि उपचारको उचित व्यवस्था मिलाइएको छ। कारागारको सुरक्षा व्यवस्था कडा पारिएको र थप अप्रिय घटना हुन नदिन विशेष ध्यान दिइएको प्रवक्ता काफ्लेले बताए।