arrow

कालिञ्चोक मन्दिरमा शिवाकोटी समाजले १२ सय धर्मावलम्बीलाई खुवायो दही चिउरा

logo
विनिता शिवाकोटी, 
प्रकाशित २०८२ साउन २४ शनिबार
shiwakoti-samaj-dahi-chura-.jpg

दोलखा । धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोक मन्दिरमा मेला भर्न आएका श्रद्धालु भक्तजनलाई शिवाकोटी समाज नेपालले दही चिउरा खुवाएको छ । पितापूर्खाले सञ्चालन गरेको साँस्कृतिक परम्परालाई निरन्तरता दिन समाजले शनिबार करिब एक हजार २ सय धर्मावलम्बीलाई दही चिउरा खुवाएको हो ।

पुर्खाको संस्कृति संरक्षण,सामाजिक सद्भाव र सामाजिक एकताको सन्देश दिने उद्देश्यले कार्यक्रमलाई पुनः सञ्चालन गर्न लागिएको शिवाकोटी समाज नेपालका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रामकाजी शिवाकोटीले बताए । दही चिउरासंगै संस्कृति र पहिचानको पुनर्उत्थानका गरी सन्ततिलाई समेत परम्परा सम्झाउने प्रयासमा लागेको संयोजक शिवाकोटीको भनाइ छ ।

सुनकोशी र तामाकोशीको दुई नदीको संगम,समुद्री सतहदेखि ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको कालिञ्चोक मन्दिरमा अगिल्लो साँझ बलीपूजा,लाखवत्ती र रातभर दीपप्रज्वलन गरिएको थियो । आफै उत्पन्न भएको मानिएको शिवपार्वती कुण्डमा विहान अभिषेकसहित जनै पूर्णिमामा पुर्खाले जनै फेरेको स्मरण गर्दै परम्परालाई निरन्तरता दिन शुरु गरिएको शिवाकोटी समाजले जनाएको छ ।

किंवदन्तीअनुसार जलकुण्डको दायाँतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धाराबाट सुनकोसी बगेको मानिन्छ । मन्दिर परिसरमा परापूर्वकालमा पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको बासस्थान रहेको बताइएको छ ।

इलाम, झापा, पाँचथर, मोरङ, काठमाडौँ, सुनखानी, सुन्द्रावती, क्षमावती, चरिकोटबाट शिवाकोटी समाजको नेतृत्वमा कालिञ्चोकमा संस्कृतिको पुनर्जानगरणमा गएको समूहले आज बिहान विधिवत पूजाआराधाना गरी मन्दिर नजिकै रहेको पाटीमा दही चिउरा खुवाएको हो ।

शिवाकोटी समाज नेपालका सचिव सुकदेव शिवाकोटीका अनुसार दही चिउरा खुवाउने कार्यक्रम धार्मिक संस्कारलाई पुनर्जीवन दिने मात्र नभइ इतिहास संरक्षण र पितापूर्खाको कर्मको सम्मान र अन्य समूदायसंग सम्बन्ध विस्तारको लक्ष्य हो ।

करिब ४४ वर्षपछि पुःन सञ्चालनमा ल्याइएको दही चिउरा कार्यक्रममा भीमेश्वर नगर प्रमुख ईश्वर नारायण मानन्धर,कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी,प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल, कालिञ्चोक गाउँपालिका वडा नं ८ का वडाध्यक्ष बालकृष्ण आचार्य,प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो, गरुढध्वज गणका गणपति, शिवाकोटी समाज नेपालका पदाधिकारी,सुनखानी,सुन्द्रावती,क्षमावतीका स्थानीय बासिन्दाको उल्लासमय उपस्थिति रहेको थियो ।

धार्मिक एवम् प्राकृतिक महत्व बोकेको कालिञ्चोक भगवती मन्दिरमा श्रृङ्गेश्वर खैजडी भजन समूहको नेतृत्वमा परम्परागत खैजडीभजन प्रदर्शन समेत गरिएको शिवाकोटी समाजले जनाएको छ । दोलखाका क्षमावती,सुनखानी र सुन्द्रावतीका भजन टोलीको सहभागिता रहेको थियो ।

शिवाकोटी समाजका अनुसार परापूर्वकालदेखि नै शिवाकोटीका पूर्खाहरुले जनैपूर्णिमा मेला भर्न आउने श्रद्धालु भत्तजनहरुलाई मन्दिरको पाटीमा दही चिउरा खुवाउने प्रचलन थियो । धर्मावलम्बीहरु कालिञ्चोक टुटवानको ओडारमा बास बसेर भोलिपल्ट मेला भर्न कालिञ्चोक पुग्ने गरेको इतिहास रहेको छ । 

सहरीकरणको विकास साथै पशुपालनमा कमी आएपछि वि.सं २०३८ साल पछि रोकिएको थियो । विभिन्न कारणले रोकिएको दही चिउरा खाने र खुवाउने कार्यक्रम यो वर्षबाट शिवाकोटी समाज नेपालको नेतृत्वमा आजबाट पुःन सञ्चालन आएको हो । 

आज इष्टमित्र,बन्धु,चेलीबेटीसहितको बाक्लो उपस्थितिमा मन्दिरमा मेला भर्न आउने श्रद्धालुभक्तजनहरुलाई सम्मानका साथ दही, चिउरा खुवाइएको शिवाकोटी समाज नेपालका उपाध्यक्ष अशोक शिवाकोटीले बताए । 

शिवाकोटी समाज नेपालका अनुसार कालिञ्चोक मन्दिर क्षेत्र र आसपासमा वनजंगल र खर्कमा शिवाकोटीहरु पशुपालन गर्थे । त्यो समय अहिलेको जस्तो होटल, पसल थिएन । जनैपूर्णिमा मेला भर्न आउने भक्तजनलाई दही चिउरा खुवाउने कार्य पशुपालनकै कारण सम्भव भएको थियो । 

कालिञ्चोक क्षेत्रमा अहिलेजस्तो होटल र खानपानको सुविधा नभएको समयमा समूदायबीचको हार्दिकता, अतिथि सत्कार र धर्म सेवाको लागि पुर्खाले दही चिउरा खाने र खुवाउने कार्य सञ्चालन गरेको अनुमान छ ।

शिवाकोटी समाजले कालिनाग मन्दिर,गणेश पाटी,शिव कुटी,चौघरा दरबार,श्रृङ्गेश्वर गुफा र कालिञ्चोकलाई धार्मिक सर्किटको रुपमा विकास गर्ने गरी कार्यक्रमको थालनी गरिसकेको बताइएको छ । समाजले चौघरा संरक्षण, गणेश पाटी निर्माण,शिव कुटी निर्माणको अभियान यस अगाडि नै शुरु गरिसकेको छ ।

शिवाकोटी समाजका उपाध्यक्षहरु रामकाजी शिवाकोटी,अशोक शिवाकोटी,सचिव सुकदेव शिवाकोटी,कोषाध्यक्ष अर्जुन शिवाकोटी,कार्यालय सचिव पदम शिवाकोटी, केन्द्रिय सदस्यहरु टेकराज शिवाकोटी,दिपक शिवाकोटी,खगेन्द्र शिवाकोटी र खड्ग प्रसाद शिवाकोटीको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको छ । 

समाजले अघिल्लो दिन कालिनाग दर्शन, गणेशपाटी, चौघरा दरबार भ्रमण तथा भजन कृतन र दोलखा भीमेश्वरमा पूजा आराधाराधना गरी कालिञ्चोक पुगेको थियो भने जनैपूर्णिमाका दिन कालिञ्चोकमा दही चिउरा कार्यक्रम समापनि पछि पुनः भीमेश्वर मन्दिर दर्शन गरी काठमाडौँ फर्केको हो । (समदृष्टि अनलाइनबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ