जंगली जनावरले बाली सखाप, बैतडीका किसान रातभर बारीमा जाग्राम
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
726
Shares
बैतडी । बैतडीमा जंगली जनावरको आतंक बढेपछि किसानहरू चिन्तित बनेका छन्। बँदेल, दुम्सी, बाँदर र भालुले मकैबाली, तरकारी र अन्य बालीनाली नष्ट गर्न थालेकाले किसानहरू रातदिन खेतबारीमै जाग्राम बस्न बाध्य भएका छन्।
जिल्लाका १० वटै स्थानीय तहमा विशेषगरी जंगली बँदेलले मकैबालीमा ठूलो क्षति पुर्याएको छ। दोगडाकेदार गाउँपालिकाका स्थानीय चन्द्रसिंह विष्टले रातभर टहरा बनाएर जाग्राम बस्दा पनि बाली जोगाउन मुस्किल परेको बताए। भर्खरै घोगा लाग्न लागेको मकैबाली नष्ट हुन थालेपछि किसानहरूलाई भोकमरीको चिन्ताले सताएको छ।
बैतडी जिल्ला मकै उत्पादनका लागि प्रख्यात भएकाले यहाँको दशरथचन्द, पाटन, सूर्नया, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकामा 'मकै जोन' कार्यक्रम सञ्चालित छ। तर, यी क्षेत्रमा पनि किसानहरूलाई बाली जोगाउन कठिन भएको मकै जोन कार्यालयले जनाएको छ।
बैतडीमा १२ हजार १०० हेक्टरमा मकै खेती गरिन्छ। तर, जंगली जनावरको समस्याका कारण बर्सेनि मकै खेती गर्ने किसानको संख्या घट्दै गएको छ र कतिपय खेतहरू बाँझै छन्। किसान रामदत्त भट्टले हरेक वर्ष बाली जोगाउन दुई महिनासम्म अनिदो बस्नुपर्ने बाध्यता रहेको बताए।