मस्को । रुसको पूर्वी कामचटका क्षेत्रमा छ सय वर्षमा पहिलोपटक ज्वालामुखी विष्फोट भएको देशको आपत्कालीन विभागले जनाएको छ । गत आइतबार यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली भूकम्पको केही दिनपछि यो ज्वालामुखी विष्फोट भएको हो ।
यो धुवाँ छ हजार मिटर (१९ हजार सात सय फिट) उचाइसम्म पुगेको अनुमान गरिएको कामचटकाको आपत्कालीन अवस्था मन्त्रालयले टेलिग्राममा एक पोस्टमा जनाएको छ ।
“धुवाँ ज्वालामुखीबाट पूर्वतिर प्रशान्त महासागरको दिशामा फैलिइरहेको छ । यसको बाटोमा कुनै बसोबास क्षेत्रहरू छैनन् र बसोबास स्थानहरूमा खरानी खसेको रेकर्ड गरिएको छैन”, मन्त्रालयले भन्यो ।
ज्वालामुखीलाई ‘सुन्तला’ उड्डयन खतरा कोड दिइएको छ । यसको अर्थ यस क्षेत्रमा उडानहरू अवरुद्ध हुन सक्छन् ।
यो क्षेत्रको अर्को ज्वालामुखी क्लुचेभस्कोय बुधबार विस्फोट भएपछि आएको हो । क्लुचेभस्कोय युरोप र एसियाको सबैभन्दा अग्लो सक्रिय ज्वालामुखी हो ।
ग्लोबल भोल्कानिज्म प्रोग्रामका अनुसार सन् २००० देखि कम्तीमा १८ वटा घटना भएका क्लुचेभस्कोयको विस्फोट निकै सामान्य छ ।
हालका दुवै विस्फोट अहिलेसम्म रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली भूकम्पहरू मध्ये एकपछि आएका हुन् । बुधबार आएको शक्तिशाली भूकम्पले सुनामी चेतावनी र जापानदेखि हवाई र इक्वेडरसम्मका तटीय क्षेत्रहरूबाट लाखौँ मानिसलाई स्थानान्तरण गराएको थियो ।
सबैभन्दा खराब क्षति रुसमा देखिएको थियो । रुसमा सुनामीले सेभेरो–कुरिल्स्क बन्दरगाहमा प्रहार गरी माछा मार्ने कारखानालाई डुबाएको अधिकारीहरूले बताएका छन् ।
रूसको कामचटका प्रायद्वीपमा पेट्रोपाभ्लोभस्कमा ८.८ रेक्टर स्केलको भूकम्प गएको थियो र यो सन् २०११ पछि सबैभन्दा शक्तिशाली थियो । सन् २०११ मा जापानको ९.१ रेक्टर स्केलको भूकम्पले सुनामी निम्त्याएको थियो र यसबाट १५ हजारभन्दा बढी मानिस मारिएका थिए ।