काठमाडौँ । डा द्धारिकानाथ ढुङ्गेलले लेखेको पुस्तक ‘निजामती प्रशासनमा कोतपर्व’ सार्वजनिक भएको छ ।
शनिबार राजधानीमा भएको एक कार्यक्रममा सो पुस्तक विमोचन भएको हो । पुस्तकमा पूर्व प्रशासक ढुङ्गेलले २०४९ साल कार्तिक २१ गते गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले एकैपटक ३६ सय कर्मचारीलाई बिदा गरेर कोतपर्व निम्त्याएको जिकिर गरेका छन् ।
कार्यक्रमका वक्ताहरूले यत्तिको कोतपर्व जंगबहादुर राणाको वास्तविक कोतपर्वमासमेत नभएको टिप्पणी गरे ।
ढुङ्गेलको पुस्तकमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालामा लागू गरिएको निजामती सेवा नियमावलीको जगमै अहिलेसम्म कर्मचारीतन्त्र धानिएको उल्लेख छ ।
उक्त नियमावलीमा टेकेर कोइरालाको पालामा निम्त्याइएको कोतपर्वका कारण अहिलेको कर्मचारी प्रशासनमा निम्तिएको बेथिति समेटिएको छ ।
कार्यक्रममा ढुङ्गेलले पहिलेको कर्मचारी प्रशासन र अहिलेको कर्मचारी प्रशासनलाई तुलनासमेत गरेर साढे सात सय पृष्ठ लामो पुस्तक तयार गरेका हुन् ।
पुस्तकको सम्पादन पत्रकार तथा लेखक टीएन घिमिरेले गरेका हुन् । पुस्तकको मुल्य १५ सय रुपैयाँ राखिएको छ ।