नेपालले आफूसँग रहेका कतिपय बहुमूल्य वनस्पतिको अझै अध्ययन गर्न नसक्दा त्यस्ता सम्पत्ति यसै खेर गइरहेका छन् । तीमध्येको एक वनस्पति हो – घोडखरी ।
वैज्ञानिक नाम भिबर्नम सिलिन्ड्रिकम रहेको यो वनस्पति पूर्वी हिमालय क्षेत्रको एक महत्वपूर्ण वनस्पति हो । यद्यपि यसबारे खासै अध्ययन तथा चर्चा भएको पाइँदैन । यो सदावहार झाडी वा सानो कदको बिरुवा हो ।
यो वनस्पति नेपाल, भुटान, पूर्वी भारत, म्यानमार र पश्चिमी चीनमा पाइन्छ । यसको बीउबाट तेल निकालिन्छ । यस तेललाई खाना पकाउन र छालाको रोग निको पार्न प्रयोग गरिन्छ ।
यसमाथि वैज्ञानिक अनुसन्धानहरू सीमित भए पनि यसमा एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल क्षमता रहेको अनुमान गरिएको छ । जुन तत्वहरूले यसलाई औषधीय तथा व्यावसायिक प्रयोगका लागि उपयुक्त बनाउँछ । यस तेलको प्रयोग, खेती प्रविधि, सम्भावित बजार र अनुसन्धानका प्राथमिक क्षेत्रहरूमाथि प्रकाश पार्नु आजको आवश्यकता हो ।
घोडखरी माथिल्लो तथा चिसो पहाडमा पाइने वनस्पति हो, यसलाई पूर्वी पहाडमा घोराखोरी अलि पश्चिमतिर घोडाखोरी, घोडखरी आदि नामले चिनिन्छ ।
औपचारिक लिखतमा भने यसलाई घोडखरी भनी उल्लेख गरिएको छ । नेपालका अधिकांश वानस्पतिय लिखतमा यसको नेपाली नाम पाइँदैन तर गुगल बुक्समा भेटिएको नारायण प्रसाद मानन्धरको पुस्तकमा भने यस वनस्पतिको नाम घोडखरी भनी उल्लेख गरिएको छ ।
मानन्धरको पुस्तक प्लान्ट्स् एन्ड पिपल अफ नेपाल अमेरिकास्थित लाइब्रेरी अफ कंग्रेसमा समेत सूचीवद्ध भएकाले यसलाई यहाँ शन्दर्भ सामग्रीका रुपमा उल्लेख गरिएको हो ।
यसबाट तेल निकालिन्छ । यो भिबर्नम ओइलका नामले परिचित छ । हाम्रो गाउँघरमा घोडखरी तेल खानमा पनि प्रयोग गरिन्छ । तर प्रमुख रुपमा यसको प्रयोग दियो बत्ती बाल्न प्रयोग गरिन्छ ।
मट्टितेलको अभावमा यसको प्रयोग अझ बढी हुन्थ्यो । परापूर्व कालमा यसको असल प्रयोग थियो । पछि बिजुली बत्तीको युगमा पनि यसको प्रयोग थियो ।
पूर्वी पहाडमा हुर्केका जोकोहीलाई पनि वाल्य कालमा हात खुट्टामा घोडखरीको तेल लगाउँने गरेको सम्झना होला । त्यतिबेला हरेक घरमा आमा हजुरआमाले परिवारका बाल बालिकालाई घोडखरीको तेल लगाउँने प्रचलन रहेको थियो ।
गाउँघरमा छोरानातिले ज्येष्ठ आमाबुबा, हजुरआमा, हजुरबुबा जस्ता आदरणीय व्यक्तिका शरीरमा यो तेल लगाउने गर्दथे । उबेला खाने तेलका लागि तोरी, फिलिंगे, सिलाम आदिको खेती लगाउने प्रचलन थियो । त्यसैले पनि घोडखरीलाई खानमा धेरै प्रयोग गरिएन ।
खोटाङस्थित हलेसी तुवाचुङ ५ का ९० वर्षीय एक ज्येष्ठ नागरिकले आफूले अझै पनि घोडखरीको तेल प्रयोग गर्दैआएको जानकारी दिएका छन् ।
यसैगरी पाँचथर जिल्लाको याङवरकका ८८ वषीय भगिरथ कोइरालाले पनि आफूले जानेदेखि नै घोडखरीको तेल प्रयोग गरेको जनाएका छन् । उनका अनुसार पाँचथरतिर यस वनस्पतिलाई घोराखोरी भनिन्छ ।
यो वनस्पति निकै चिसो ठाउँमा मात्र फल्दछ । यसको फल मंसिर, पुस महिनामा पाक्छ । पाकेपछि यसको दाना कालो हुन्छ । यसलाई टिपेर सुकाइन्छ । राम्ररी सुकेपछि ढिकीमा फलेर चुयाबाट बनेको पेचामा खाँदिन्छ र भारी ढुंगाले थिचेर तेल निकालिन्छ । आजकल पानीघट्ट तथा आधुनिक मिलमा पनि पेल्ने गरिएको भगिरथका छोरा देवीले बताए ।
तीस चालीस वर्षअघि गाउँघरमा गोठ राखेर पशुपालन गर्ने भएकाले घ्यु नै प्रशस्त पाइन्थ्यो । त्यसैले सामान्य अवस्थामा घोडखरीको तेल खाने प्रचलन थिएन तर धेरै रोटी पकाउनुपर्ने अवस्था जस्तै हिउँदमा लगाउँने श्री स्वस्थानीको पूजा आदिमा तोरीको तेल र घोडखरीको तेल मिसाउँने प्रचलन थियो । कोइरालाद्वयले अझै पनि स्वस्थानी पूजामा घोडखरीको तेल उपयोग गरिने यकिन गरे ।
यसको स्वाद अलि तितो हुने कोइराला तथा राईको अनुभव छ । लिखतहरूमा उल्लेख गरिए अनुसार सामान्यतया यो वनस्पति आठ मिटर देखि १५ मिटर उचाइसम्म बढ्न सक्छ ।
यो वनस्पति एक हजार दुई सय मिटरदेखि दुई हजार चार सय मिटरको उचाइमा पाइन्छ । नेपालमा भने दुई हजारदेखि तीन हजार मिटरको उचाइमा राम्ररी फस्टाउने गरेको रैथाने बालिका उत्पादकहरूको अनुभव छ । तर मलेसिया र इन्डोनेसियामा भने एक हजार एक सय मिटरस्थित न्यानो जलवायुमा पनि घोडखरी खेती गर्न सकिन्छ ।
अध्येताकहरूका अनुसार यो वनस्पति दक्षिणी चीनको युनान प्राप्तमा परम्परागत रुपमा घर बगैंचांमा लगाइने गरेको पाइन्छ । त्यहाँ यसलाई उपचारका साथै मसाज ओइलका रुपमा पनि प्रयोग गरिन्छ ।
यसलाई हालसम्म व्यावसायिक खेती गरेको पाइँदैन । पश्चिमी देशहरूमा भने बगैंचामा यसलाई रोपिएको पाइएको छ । नेपालमा वनस्पति संकलन गरी उद्योग चलाउँदै आएका भरत बस्नेतले आफूले पनि घोडखरीको बारेमा सुनेको तर हालसम्म यसबारे खासै जानकारी नभएको बताएका छन् ।
अध्येताहरूले नेपाल र चीनका माथिल्ला पहाडबाट विदेश लगेर बगैंचामा रोपेको बताएका छन् । यो वनस्पतिलाई सामान्यतया घाम लाग्ने वा आंशिक रुपमा घाम लाग्ने क्षेत्रमा खेती गर्न सकिन्छ । तर पानीको राम्रो निकास भएको ठाउँ चाहिन्छ । माथिल्लो पहाडको भिरालो जमीनमा यसको खेती गर्न सहज मानिन्छ ।
यसका लागि मलिलो दोमट माटो आवश्यक पर्दछ । माटोको पीएच मापन ६ देखि ७ भए त्यसलाई असल मानिन्छ । खासगरी नर्सरी व्यवसायी र अध्येताहरूका अनुसार घोडखरी उम्रन भने निकै समय लाग्छ । मज्जाले पाकेको दाना डेढ वर्षमा मात्र उम्रिन्छ । त्यसैले पूरै नपाकी फल टिपेर विरुवा उमार्ने प्रचलन पनि छ ।
अध्येताहरूले घोराखोरीका दुई सय २० वटा प्रजाति हुने तथ्य पत्ता लगाएका छन् । तीमध्ये पूर्वी एसिया तथा युरोपतिर यसको अध्ययन पनि भएको पाइन्छ । तर त्यहाँ अध्ययनमा प्रयोग गरिएको घोडखरी यहाँका तुलनामा रंग र दाना नै फरक पाइन्छ ।
घोडखरीको तेललाई हाडजोर्नीको दुखाइ कम पार्न, कपाल झर्नबाट रोक्न, सामान्य छालाको रोगबाट बच्न प्रयोग गरिएको तथ्य अध्ययनबाट मुखरित भएका छन् ।
घोडखरीका केही प्रजातिको पात, डाँठ र जरासमेत औषधिय उपयोगमा ल्याइएका प्रमाण भेटिएका छन् । दुखाइ कम पार्न, छालामा देखिने घाउ खटिराको उपचारका लागि, रोगसँग लड्ने क्षमता अभिवृद्धिका लागि, चिनी रोग कम पार्ने आदिमा घोडखरीको प्रयोग गर्नसकिन्छ ।
यस सम्बन्धमा विस्तृत अध्ययनको खाँचो छ । कृषि, वन तथा वनस्पति अध्ययन संस्थाहरूले यसमा थप अध्ययन गरे जंगलमा यसै खेर गएको घोराखोरीबाट आयआर्जनको बाटो खुल्नसक्छ ।
खेतीको सम्भावना
लिखतहरूमा उल्लेख भएअनुसार राम्ररी पाकेको फल असारदेखि असोजबीचमा टिपेर बोक्रा हटाइन्छ । यो पश्चिमी तरिका हो तर यस बेला हाम्रो पहाडमा यो फल पाकेकौ हुँदैन । त्यसैले हाम्रोमा हिउँदमा टिपेर वर्षा यामसम्म राख्नुपर्दछ ।
बिउलाई एक सातासम्म सुकाएर स्ट्राटिफिकेसन गरिन्छ । यसका लागि पहिलो महिना न्यानो अथवा २० देखि २२ डिग्री सेल्सियस तापक्रममा बिउलाई राख्नुपर्दछ । त्यसपछि फेरि चिसो वातावरणमा राख्नुपर्दछ । बिउलाई तीनदेखि पाँच महिनासम्म तीनदेखि पाँच डिग्री सेल्सियस तापक्रममा राख्नुपर्दछ । तर यो भन्दा सजिलो उपाय भनेको पूरा नपाकेको तर छिप्पिएको बिउ संकलन गरे सजिलो पर्दछ । हाम्रोतिर पाक्ने समय अथवा शितकालमा टिपेर जमिनमा गाडिदिए वर्षायाममा टुसाउँछ ।
घोडखरी खेती गर्नेले निकै नै धैर्यधारण गर्न सक्नुपर्दछ । यसको विउबाट अंकुर पलाउँनका लागि बढीमा डेढ वर्षसम्म पनि लाग्न सक्छ ।
त्यसैगरी हिउँदमा एयरलेयरिङ गरेको खण्डमा वर्षा यामसम्ममा विरुवामा जरा पलाउँन सुरु गर्दछ तर यसलाई रोप्न मिल्ने अवस्थामा पुग्न एक वर्ष देखि पन्ध्र महिनासम्म लाग्छ ।
सामान्यतया जंगलमा हुर्केको घोडखरीमा आधा किलोग्रामदेखि दुई केजीसम्म फल प्रप् तगर्न सकिन्छ । यसलाई जंगलमै अलिकति मात्र सुधार गरिदिए पनि चार केजी प्रति बोट उत्पादन लिन सकिन्छ ।
यसैलाई अझ स्याहार गरेर खेती नै गर्न पाए एक बोटबाट चारदेखि ६ केजीसम्म फल प्राप्त गर्न सकिन्छ ।
एक केजी ताजा फलबाट सय मिलिमिटर तेल निस्कन्छ । त्यसैगरी सुख्खा फलबाट भने दुई सय एमएल सम्म तेल निस्कन्छ ।
मानव स्वास्थ्यमा यसको उपयोग
हङकङस्थित युनिभर्सिटी अफ चाइनाका प्राध्यापक डा. विलियम चो र उनको अध्ययन दलका १५ सदस्यले भिबर्नम प्रजातिका वनस्पतिको औषधी गुणबारे लामो अनुसन्धान गरेका छन् ।
उनको अध्ययन दलमा उनी लगायत पाकिस्तान, इरान, सर्बिया, इटाली, मेक्सिको, ब्राजिल, चिलीलगायत विभिन्न मुलुकका १४ विश्व विद्यालयका प्राध्यापकहरू सहभागी थिए ।
उनीहरूको अध्ययनले विश्वका विभिन्न ठाउँमा खासगरी एसियाका हिमाली मुलुकहरूमा दुई सय ३० प्रजातिका घोडखरी प्रजातिका वनस्पति पाइन्छन् ।
उनीहरूको अध्ययनले यीमध्ये केही प्रजातिका खोडखरीको बिउ, पात, बोक्रालाई परम्परागत औषधीका रुपमा उपयोग गर्ने तथ्य स्थापित गरेको छ । खासगरी झाडा पखाला, रुघाखोकी र जोर्नीको दुखाइ कम पार्न यस वनस्पतिको तेल तथा पातको प्रयोग गरिन्छ ।
अनुसन्धाकर्ताहरूले यस विषयमा थप अनुसन्धानको आवश्यकता औँल्याउनुलाई अस्वाभाविक मानिँदैन । उनीहरूले पनि यो विषय मानव स्वास्थ्यसँग सम्बन्धित रहेकाले पनि थप अनुसन्धान त आवश्यक पर्छ नै । यस वनस्पतिमा मानव स्वास्थ्यलाई सहयोग गर्ने विभिन्न किसिमका जैविक रसायनहरू पाइन्छ । यिनीहरूमा मुख्य रुपमा क्यारोटिनोइड, पोलिफिनोल तथा फ्लाभोनोइड पर्दछन् ।
यी तत्वहरूले हाम्रो शरीरमा रोगसँग लड्ने क्षमता प्रदान गर्दछन् । यी तत्वहरूले रोगका कोषहरू प्रसार हुनबाट रोक्न सहयोग गर्दछन् ।
मष्तिष्क तथा मुटुको स्वास्थ्य सुधारमा सहयोग गर्दछन् । योभन्दा पनि महत्वपूर्ण खोज पनि उनीहरूले पत्ता लगाएका छन् । त्यो हो – घोडखरीको तेल तथा पातले हामीलाई क्यान्सरको जोखिम घटाउनसमेत सहयोग गर्ने प्रमाण डा. चोको समूहले गरेको अनुसन्धानबाट प्राप्त भएको छ ।
यस्ता विषयमा हचुवाका भरमा छलफल गर्न उचित मानिँदैन तर चिकित्सहरूले गरेको अनुसन्धान र डिओआई प्राप्त पियर रिभ्युड आर्टिकलहरूलाई विद्धत वर्गले नर्कान पनि मिल्दैन ।
जे होस् यदि घोडखरीको व्यवसायिक उत्पादन गर्न सके नेपालका पहाडी क्षेत्र त्यसमा पनि माथिल्लो पहाड जहाँका बारिमा आलुमात्र उत्पादन गर्न सकिन्छ । त्यहाँका बारीमा एक प्रजातिको किवी फलमात्र उत्पादन गर्न सकिन्छ । यस्ता क्षेत्रलाई पनि आयआर्जनको बाटो खुल्न सक्दछ ।