काठमाडौँ । सरकारले कोदो र अन्य कोदोजन्य बालीहरूको महत्त्व बढाउन र तिनको उत्पादनलाई प्रोत्साहन गर्न आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाएको छ । यो दिवस मनाउनुको मुख्य उद्देश्य कोदोजन्य बालीको आयात घटाउनु, साना किसानको आयआर्जन बढाउनु, र देशको खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्नु हो।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा गठित प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समितिले यस वर्षको लागि ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा रहेको छ।
महानिर्देशक सञ्जेलका अनुसार यो दिवसले देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनको असर कम गर्न, जैविक विविधता जोगाउन र खाद्य प्रणालीको रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात भएको जनाएको छ, जसको मूल्य ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबर रहेको छ।
यसो भन्छन् प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्व रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले कोदो दिवसका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै कोदोको उत्पादन बढाउन र परिकारहरु उपभोग गर्न सबैसँग आग्रह गरेका हुन् ।
“कोदोको उत्पादन बढाऔँ, कोदोका परिकारहरु उपभोग गरौँ ! कोदो दिवसको शुभकामना !” प्रधानमन्त्री ओलीले भनेका छन् ।
“ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ । सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवद्र्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत स्पष्ट गरेका छन् ।
दिवसका कार्यक्रम र कोदोको फाइदा
दिवसको अवसरमा चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ, कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायत विभिन्न विधामा पुरस्कार र कदरपत्र वितरण गर्ने कार्यक्रम रहेको छ। प्रदेश र स्थानीय तहहरूले पनि यस अवसरमा विविध कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।
समितिका अध्यक्ष सञ्जेलले कोदोको खेतीमा रासायनिक मलखाद र विषादीको प्रयोग कम गर्दा पनि औसत उत्पादन लिन सकिने बताए । उनले यसबाट हानिकारक हरित ग्यास उत्सर्जन कम गर्न मद्दत पुग्ने र जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
विभागले दिवस मनाउनका लागि सबै तयारी पूरा भएको जनाएको छ । (तस्बिरहरू नेपाल फोटो लाइब्रेरी)