ल्हाम्दे खोलामा पुनः बाढी: स्याफ्रुबेँसी–रसुवागढी सडक बन्द
चिनियाँ भूभागमा भारी वर्षा र सतर्कताको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
744
Shares
रसुवा। नेपाल–चीनको सिमानामा अवस्थित ल्हाम्दे खोलामा गए राति पुनः आएको बाढीले स्याफ्रुबेँसी–रसुवागढी सडकमा क्षति पुर्याएको छ, जसका कारण सडक पूर्ण रूपमा बन्द भएको छ। बाढीले टिमुरे सुक्खा बन्दरगाहको माटो समेत बगाएको छ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अर्जुन पौडेलका अनुसार, आज बिहान आएको बाढीले गत असार २४ गतेको बाढीबाट जोगिएको टिमुरे सुक्खा बन्दरगाहको माटो बगाएको र नदी कटानले सडकमार्गमा क्षति पुर्याएको छ। यस कारण, साना तथा ठूला सबै प्रकारका सवारीसाधनको टिमुरे खण्डमा आवतजावत पूर्ण रूपमा बन्द भएको छ। बन्द सडक खुलाउन काम सुरु भइसकेको जनाइएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ पौडेलले चिनियाँ भूभागमा भारी वर्षा भइरहेका कारण पटकपटक बाढी आउने गरेकोले पूर्वसावधानी अपनाउँदै नदी किनारको तटीय क्षेत्रमा बसोबास नगर्न जिल्लावासीलाई आग्रह गरेका छन्।
गए रातिको बाढीले सडक संरचनाबाहेक अन्य धनजनको क्षति नभएको प्रजिअ पौडेलले जानकारी दिए। ल्हाम्दे खोलाको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दै छ भन्ने जानकारी गए राति नै तटीय क्षेत्रमा गराइएको थियो।