काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–१ गोकुलेकी एक गर्भवतीको मंगलबार हेलिकप्टरबाट उद्धार गरिएको छ, जसबाट जोखिममा परेका आमा र शिशु दुवैको जीवन जोगिएको छ। सोमबार साँझदेखि सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्यचौकीमा भर्ना भएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई उद्धार गरिएको हो।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार, गोकुले स्वास्थ्यचौकीमा छटपटाइरहेकी लुङ्गेलीलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो। उनलाई काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको स्वास्थ्यचौकी प्रमुख पूर्णिमा तुम्सिङले बताइन्।
यसअघि गत शुक्रबार दिउँसो पनि महाभारत–७ बनखुकी गर्भवती २८ वर्षीया देवकुमारी पाख्रिनको हेली एम्बुलेन्सबाट उद्धार गरिएको थियो।
महाभारत गाउँपालिकामा अधिकांश सडक कच्ची छन्। वर्षाका कारण यी सडकमा नियमित रूपमा सवारीसाधन सञ्चालन गर्न असम्भव भएकाले गर्भवतीहरूको उद्धारका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।
गाउँपालिका अध्यक्ष जिम्बाले दुर्गम क्षेत्रमा राष्ट्रपति–महिला उत्थान कार्यक्रम अत्यन्तै प्रभावकारी बनेको र ग्रामीण भेगका धेरै महिला यसबाट लाभान्वित भएको बताए।