माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारविरुद्ध संसदमा खरो उत्रने
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
901
Shares
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले सरकारका गलत क्रियाकलापविरुद्ध संसदका बैठकहरूमा खरो रूपमा प्रस्तुत हुने निर्णय गरेका छन्। सोमबार सिंहदरबारमा भएको दुई दलका नेताहरूको भेटघाटले यस्तो निर्णय गरेको हो।
भेटमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरू सहभागी थिए। मंगलवार बस्ने समाजवादी मोर्चाको बैठकलाई उपलब्धिमूलक र प्रभावकारी बनाउन आवश्यक रणनीतिबारे दुई पार्टीका नेताहरूबीच छलफल भएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए। संसदमा विचाराधीन रहेका विधेयकहरू, विशेषगरी शिक्षासम्बन्धी विधेयक र संघीय निजामति विधेयकमाथि भएको षड्यन्त्रबारे समेत गम्भीर छलफल भएको उनले बताए।
उपाध्यक्ष ज्वालाले भने, "भोलि समाजवादी मोर्चाको बैठक छ। मोर्चाको बैठकलाई कसरी उपब्लब्धीमूलक बनाउने? सफल बनाउने भन्ने मुख्य विषयमा आज हामीले छलफल गर्यौँ। त्यसपछि अहिले संसदमा विभिन्न विचाराधीन विधेयकहरू छन्। शिक्षासम्बन्धी विधेयक अड्काएर राखिएको छ। संघीय निजामति विधेयकमा षड्यन्त्र भएको छ। राष्ट्रिय सभाबाट पनि विधेयकलाई उल्ट्याउने प्रयास गरिएको छ।"
उनले थपे, "संसदमा खेल्नुपर्ने भूमिकाको विषय पनि छ। यी विषयमा दुवै पार्टीका माननीय सदस्यहरूले संसदको दुवै सदनमा सशक्त तरिकाले भूमिका कसरी खेल्ने भन्ने विषयमा छलफल भयो। त्यसमध्येपनि सरकारका गलत प्रवृत्तिहरूविरुद्ध संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आज छलफल भयो।"
सरकारका नीतिगत कमजोरीहरू र गलत प्रवृत्तिका विरुद्ध खरो रूपमा प्रस्तुत हुन दुवै दलका नेताहरू सकारात्मक भएको ज्वालाको भनाइ छ।