सामाजिक सुरक्षा कोष धनी बन्ने माध्यम होइन, रोग र भोकबाट बचाउने आधार हो: महान्यायाधिवक्ता बडाल
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
534
Shares
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले सामाजिक सुरक्षा कोषमा आबद्धता धनी बन्नका लागि नभएको स्पष्ट पारेका छन्। सामाजिक सुरक्षा कोषले आयोजना गरेको 'सामाजिक सुरक्षा कोषमा वृहत आबद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम' मा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले सामाजिक सुरक्षा कोषमा गरेको योगदान बैंकमा जम्मा गरेको रकम वा शेयरमा गरेको लगानीजस्तो नभएको बताए। यसबाट रकम निकालेर घरजग्गा वा अन्य व्यवसायमा लगानी गर्न नपाइने उनको भनाइ थियो। महान्यायाधिवक्ता बडालले सामाजिक सुरक्षा कोषमा गरेको लगानीले कसैलाई धनी पनि नबनाउने र रोग र भोकले मर्न पनि नदिने स्पष्ट पारेका छन्।
"कतिपय सन्दर्भमा साथीहरूको प्रश्न उठ्छ ल, यो त सेभिङ फन्ड हो कि त। मैले राखेको पैसा मैले रिटर्न पाउनुपर्छ भन्ने छ," उनले भने, "'सोसियल सेक्युरिटी फन्ड' ले कसैलाई धनी बनाउन खोज्दैन। र यसले कसैलाई पनि भोक र रोगको कारणले मर्न दिँदैन। यसको 'थिम' यतिमात्रै बुझ्दा पनि हुन्छ। यसले कसैलाई धनी चाहिँ बनाउँदैन सोसल सेक्युरिटीले।"
बडालले थपे, "बैंकमा राखेको पैसा निकाले म घरजग्गा किन्छु भनेजस्तो सोसल सेक्युरिटीमा गरेको कन्ट्रीब्युसन निकालेर म घरजग्गा किन्छु र स्वाट्टै यसको भाउ बढ्ला। अथवा शेयरमा लगानी गर्छु र स्वाट्टै त्यसको भाउ बढाएर म धनी हुन्छु भन्ने परिकल्पना हामीले ग¥यौँ भने त्यो चाहीँ गलत हो, त्यो यसबाट सम्भव छैन।"
महान्यायाधिवक्ता बडालले सामाजिक सुरक्षा कोषलाई सामाजिक सुरक्षाकै रूपमा हेर्न र बचत वा लगानीको रूपमा नहेर्न पनि कानुन व्यवसायीहरूसँग आग्रह गरेका छन्।
नेपाल बार एसोसिएसन र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएसँगै बारमा आबद्ध कानुन व्यवसायीहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। महान्यायाधिवक्ता बडालले बच्चा जन्मेदेखि हुने जोखिम र दुर्घटना वा अशक्तताको अवस्थामा सामाजिक सुरक्षा कोषले मद्दत गर्ने पनि स्पष्ट पारेका छन्।