काठमाडौँ । हप्तौँदेखि टर्किएलाई घेरेको डढेलोले आइतबार बिहान सबेरै देशको चौथो ठूलो सहर बुर्सालाई खतरामा पारेको छ। आगलागीका कारण सयौँ मानिसहरू आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन्।
उत्तरपश्चिम टर्किएको बुर्सा वरपरका जङ्गली पहाडहरूमा रातभर द्रुत गतिमा आगो फैलिएपछि सहरको पूर्वी उपनगरहरूमा रातको आकाश रातो देखिएको थियो। बुर्साका गभर्नरको कार्यालयले आइतबार एक विज्ञप्तिमा उत्तरपूर्वका गाउँहरूबाट १ हजार ७ सय ६५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएको छ। १ हजार १०० भन्दा बढी दमकलकर्मीहरू आगो निभाउने प्रयास गरिरहेका थिए। बुर्सालाई राजधानी अङ्कारासँग जोड्ने राजमार्ग वरपरका जङ्गलहरू जलेको कारण बन्द गरिएको थियो।
प्रान्तका विपक्षी सांसद ओर्हान सारिबालले यस दृश्यलाई ‘प्रलय’ भनी वर्णन गरेका छन्।
बिहानसम्म हावाको गति कम भएपछि दमकलकर्मीहरूलाई केही राहत मिलेको थियो, तर टेलिभिजनको फुटेजले खरानीमय भूदृश्य देखाएको छ, जहाँ पहिले खेतहरू र सल्लाका जङ्गलहरू थिए।
टर्किए जुनको अन्त्यदेखि दैनिक दर्जनौँ डढेलोको चपेटामा परेको छ। वनमन्त्री इब्राहिम यमुक्लीले शनिबार देशभरका अग्नि नियन्त्रकहरूले ७६ वटा छुट्टाछुट्टै आगलागीको सामना गरेको बताएका थिए। बेमौसमी उच्च तापक्रम, सुक्खा अवस्था र कडा हावाले गर्दा आगोको फैलावट तीव्र भएको हो।
टर्किएको दक्षिणपूर्वी सिरनाक प्रान्तमा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम ५०.५ डिग्री सेल्सियस (१२२.९ डिग्री फरेनहाइट) रेकर्ड गरिएको छ। जुलाईमा सबैभन्दा बढी तापक्रम अन्य १३२ स्थानमा देखिएको छ। यमुक्लीले काराबुकसहित देशको उत्तरपश्चिम सबैभन्दा ठूलो खतरामा रहेको बताए, जहाँ मङ्गलबारदेखि डढेलो लागेको छ।
हालैका साताहरूमा पश्चिमी टर्किएको एस्किसेहिरमा बुधबार आगलागी हुँदा १० जना उद्धारकर्मी र वनकर्मीसहित १३ जनाको मृत्यु भएको छ।
न्यायमन्त्री यिलमाज टुन्कले शनिबार राति अभियोजकहरूले जुन २६ देखि ३३ प्रान्तमा आगलागीको अनुसन्धान गरिसकेको र ९७ संदिग्धहरू विरुद्ध कानुनी कारबाही गरिएको बताए। आगलागीको गम्भीरताका कारण सरकारले शुक्रबार दुई पश्चिमी प्रान्त इज्मिर र बिलेसिकलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेको छ।