घुस प्रकरणमा जोडिएकी नउपा अध्यक्ष श्रेष्ठ पार्टी जिम्मेवारीबाट अलग
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
3k
Shares
काठमाडौँ । कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा ७८ लाख घुस लिएको अडियो प्रकरणमा जोडिएकी नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पार्टी जिम्मेवारीबाट अलग भएकी छन् ।
उनले वरिष्ठ नेता शिव बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी तोक्दै पार्टी जिम्मेवारीबाट अलग भएकी हुन् । उनले आफू अस्वस्थ रहेकाले पार्टी काममा लाग्न नसकेको जनाएकी छन् ।
अडियो प्रकरणलाई लिएर नाउपाका नेताहरुले अध्यक्ष श्रेष्ठको चर्को आलोचना गर्दै २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । उनीहरुलाई बैठक नबोलाइए केन्द्रीय समिति बैठकबाट थप निर्णय लिने चेतावनी दिएका थिए ।
त्यसलगत्तै अध्यक्ष श्रेष्ठले पार्टी विधानको सुविधा प्रयोग गर्दै बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् ।
अध्यक्ष श्रेष्ठले भनेकी छन्, ‘मेरो स्वास्थ्य अवस्था विगत केही दिनदेखि असहज रहेको र मेरो हालको अस्वस्थताको कारण पार्टीको गतिविधिहरुमा पूर्ण रुपमा सक्रिय हुन असमर्थ रहेको व्यहोरा अवगत गराउन चाहन्छु । मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य संचालन र महत्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकोले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ ।’
‘यस विषम परिस्थितिमा, हाम्रो नागरिक उन्मुक्ति पार्टीको विधान २०७८ को धारा २० को उपधारा (९) बमोजिम, तपाईं यस पार्टीको वरिष्ठ नेता शिव बास्तोलालाई मेरो अनुपस्थितिमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नका लागि यो पत्रमार्फत तोकिएको छ । तपाईंले पार्टीको विधानको अधिनमा रहि अध्यक्षको रुपमा सम्पूर्ण अधिकार तथा कर्तव्यहरु निर्वाह गर्नु हुनेछ र पार्टीका गतिविधिहरुलाई सफलतापूर्वक अगाडि बढाउनु हुनेछ भन्नेमा विश्वस्त छु । मेरो स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म यो जिम्मेवारी निरन्तर रहनेछ । यस अवधिमा तपाईंबाट पार्टीको हित र एकता कायम राख्दै काम गरिनेछ भन्ने अपेक्षा राखेको छु’, उनले पत्रमा उल्लेख गरेकी छन् ।
‘मैले मेरो अधिकार र विधानअनुसार बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी हुँ’, उनले भनिन् । उनको यो निर्णय एकलौटी रहेको भन्दै पार्टीका केही नेताले अमान्य भनेका छन् ।
पार्टीभित्र अध्यक्ष श्रेष्ठको विषयमा बबण्डर हुँदासमेत संस्थापक रेशम चौधरीको कुनै प्रतिक्रिया आएको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहेकी श्रेष्ठसँग बयान लिनुका साथै र अडियो परीक्षणसमेत गरिसकेको छ ।
यही प्रकरणमा राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामाको पनि बयान र भ्वाइस टेस्ट भइसकेको छ ।
नागरिक उन्मुक्ति पार्टीको संघीय संसदमा अध्यक्ष श्रेष्ठसहित चार र प्रदेश सभामा १२ गरी १६ जना सांसद छन् ।