arrow

गण्डकीमा डेंगी सङ्क्रमण बढ्दै: छ सय नौ जनामा पुष्टि, पोखरा 'हटस्पट' बन्ने खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
dengue--ji-ha.jpeg

गण्डकी । गण्डकी प्रदेशमा गत पुसयता ६०९ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ। वर्षायाम सुरु भएसँगै डेंगीका बिरामीहरू बढ्दै गएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत जेठमा १६९ जनामा डेंगी देखिएकामा असार लागेपछि हालसम्म १८५ जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको छ। प्रदेशभरि सबैभन्दा बढी कास्कीमा ३०७ जना, तनहुँमा १०१, लमजुङमा ७७, गोरखामा ४६, स्याङ्जामा २८, बागलुङमा १९, पर्वतमा १७, म्याग्दीमा १० र नवलपुरमा ४ जनामा डेंगी सङ्क्रमण देखिएको छ। हालसम्म मुस्ताङ र मनाङमा भने डेंगीका बिरामी भेटिएका छैनन्। कास्कीमा सङ्क्रमण पुष्टि भएका ३०७ जनामध्ये १०३ जना पोखरा महानगरपालिकाका रहेका छन्, जुन प्रदेशभरि पुष्टि भएका डेंगीका बिरामीको झन्डै आधा सङ्ख्या हो।

साउनदेखि कात्तिकसम्म डेंगी सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रमणको दर बढ्दै जाने अनुमान गरिएको छ। प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले डेंगी सङ्क्रमणको न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सबै निकायलाई तयारी अवस्थामा राखिएको बताएका छन्। गत वर्ष प्रदेश राजधानी पोखरा डेंगीको 'हटस्पट' बनेकाले यसवर्ष सङ्क्रमण बढ्न नदिन उच्च सतर्कता अपनाइएको उनको भनाइ छ।

पोखरा महानगरसहित प्रदेशका स्थानीय तहहरूले समुदायस्तरमा डेंगी फैलनबाट रोक्न डेंगी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेका छन्। लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम पनि भइरहेको छ। गत वर्ष पोखरा महानगरपालिकामा मात्र ८ हजार ६ सयभन्दा बढीमा डेंगी सङ्क्रमण भएको थियो भने डेंगी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो।

गत वर्षको भदौ पहिलो हप्तादेखि असोज पहिलो हप्तासम्ममा पोखरामा छ गुणाले डेंगी सङ्क्रमण बढेको थियो। लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि सुरु गर्दै आए पनि डेंगी रोकथाम चुनौतीपूर्ण बन्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन्। हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेंगी रोकथाम र नियन्त्रण गर्न कठिन हुने उनीहरूको भनाइ छ।

धवलागिरि प्रादेशिक अस्पतालका प्रमुख चिकित्सक किरण तिवारीले डेंगी फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडालगायत स्थानमा पानी जम्मा हुन नदिन र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने बताएका छन्। डेंगी रोग सार्ने 'एडिस एजिप्टाई' जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको उनको भनाइ छ। "सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ। लामखुट्टेको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो," उनले भने।

सङ्क्रमितले तुरुन्त परीक्षण गरी र आवश्यकताअनुसार उपचार सुरु गर्नुपर्ने चिकित्सक तिवारीको भनाइ छ। डेंगीको सङ्क्रमणपछि एक्कासि उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखापर्ने उनले बताए। सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले डेंगीलाई सामान्य रूपमा लिन नहुने उनको भनाइ छ। लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी नियन्त्रणको उत्तम उपाय भएको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ