काठमाडौँ। बागलुङ जिल्लामा पछिल्लो समय डेंगी सङ्क्रमण तीव्र गतिमा बढ्दै गएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले दिएको जानकारीअनुसार, जिल्लाभर हालसम्म ५३२ जनालाई डेंगी सङ्क्रमण भएको पुष्टि भएको छ।
जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा डेंगीका बिरामीहरू देखा परेका छन्। प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार, जिल्लामा सबैभन्दा बढी २९५ जना बागलुङ नगरपालिकामा र सबैभन्दा कम एक जना तमानखोला गाउँपालिकामा सङ्क्रमित रहेका छन्। दसैँ र तिहारपछि सङ्क्रमितको सङ्ख्या बढेको भन्दै घिमिरेले लक्षण देखिएका बिरामीहरूको दशवटै पालिकामा परीक्षण भइरहेको बताए।
सङ्क्रमितहरूको उपचारका लागि धौलागिरि अस्पताल बागलुङ, गलकोट अस्पताल, बुर्तिबाङ अस्पताल र कुस्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा व्यवस्था मिलाइएको छ।
गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले डेंगी सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनुपर्नेमा जोड दिएका छन्। उनले खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडालगायत पानी जम्मा हुने स्थान र लामखुट्टेको बासस्थान नष्ट गरेर डेंगी नियन्त्रणमा सहयोग गर्न आग्रह गरे।