गोसाइँकुण्ड मेलाका लागि सम्पूर्ण तयारी पूरा: निर्धक्क यात्रा गर्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
516
Shares
रसुवा । आगामी जनैपूर्णिमा पर्वको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका लागि आवश्यक सबै तयारी पूरा भएको छ। गोसाइँकुण्ड मेला व्यवस्थापन समितिले स्वास्थ्य व्यवस्था, शान्ति सुरक्षा र यातायातको राम्रो प्रबन्ध मिलाइएको भन्दै श्रद्धालु भक्तजनहरूलाई निर्धक्क भएर मेला भर्न अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय धुन्चेमा बसेको मेला व्यवस्थापन समितिको बैठकले धुन्चेसम्म जोडिएका सबै सडक मार्ग राम्रो अवस्थामा रहेको, यातायातका साधन निर्वाध चलिरहेको र तीर्थयात्रीहरूका अनुसार बाटोमा कुनै समस्या नरहेको जानकारी दिएको छ। जिल्लास्थित सुरक्षा संयन्त्रले जनैपूर्णिमाको अवसरमा हुने भक्तजन तथा तीर्थयात्रीको चापलाई ध्यानमा राखी विशेष सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले भोटेकोशीमा असार महिनामा आएको बाढीले उत्तरतर्फ करिब ३० किलोमिटर टाढाको रसुवागढी क्षेत्रमा मात्र क्षति पुर्याएको र पूरै रसुवा जिल्ला प्रभावित भएको भन्ने अफवाह निराधार रहेको स्पष्ट पारेका छन्। उनले सदरमुकाम धुन्चेसहित गोसाइँकुण्डसम्म जाने बाटोमा कुनै समस्या नरहेको बताए।
जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड मेला भर्न आउने तीर्थयात्रीलाई सहयोग र स्वागत गर्न जिल्ला प्रशासन कार्यालय, निकुञ्ज कार्यालय, अस्पतालसहित स्थानीय स्वास्थ्यचौकी, गाउँपालिकाको कार्यालय, नागरिक समाज, धार्मिक तथा पर्यटन क्षेत्रमा क्रियाशील संघसंस्था स्वस्फूर्त रूपमा लागेकाले ढुक्क हुन प्रजिअ पौडेलले अनुरोध गरेका छन्।
उनले रसुवाको प्रवेशद्वार बेत्रावतीदेखि तीर्थस्थलसम्म सुरक्षाको विशेष व्यवस्था मिलाइसकिएको जानकारी दिँदै भयरहित वातावरणमा यात्रा गर्न आग्रह गरे।
समुद्री सतहबाट ४,३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड जाने क्रममा 'लेक लाग्न सक्ने' समस्याबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ। स्वास्थ्य, सुरक्षा वा अन्य कुनै समस्या देखिएमा स्थानीय सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराई सहयोग लिन सकिने व्यवस्था मिलाइएको छ।
जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायी र होटल तथा लज सञ्चालकहरूलाई सामान्य अवस्थाको जस्तै निर्धारित सेवाशुल्क लिन र तीर्थयात्रीलाई राम्रो व्यवहार गर्न अनुरोध गरेको छ। बढी रकम लिएको पाइएमा तत्काल जानकारी दिनसमेत आग्रह गरिएको छ।
यसपटक धुन्चेबाट गोसाइँकुण्डसम्मको पैदलयात्रामा भेटिने पसलहरूमा चिया, कफी, खाना, नास्ता आदिको दररेट निर्धारण गरी सबैले देख्ने स्थानमा राखिएको छ। साथै, उकालो हिँड्न गाह्रो हुनेहरूका लागि घोडाको व्यवस्था समेत गरिएको समितिले स्पष्ट गरेको छ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार गत असार २४ गतेको बाढीले रसुवागढी क्षेत्रमा मात्र नोक्सान पुर्याएको र काठमाडौँदेखि त्रिशूली–धुन्चे हुँदै गोसाइँकुण्डसम्मको तीर्थमार्ग सुरक्षित रहेको छ।
धार्मिक महत्त्व र आगामी तयारी
सनातन हिन्दूधर्म संस्कृतिअनुसार साउन शुक्ल पूर्णिमा (यस वर्ष साउन २४ गते) जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा स्नान तथा पूजाआजा गर्नाले सम्पूर्ण देवदेवताको दर्शन मिल्ने र सबै मनोकाङ्क्षा पूरा हुने विश्वास छ। यही धार्मिक आस्थाका आधारमा हरेक वर्ष हजारौँ भक्तजन त्यसतर्फ जाने गर्छन्।
यसवर्ष साउन २४ गते जनैपूर्णिमा पर्व परेको र नागपञ्चमीदेखि नै भक्तजन त्यसतर्फ जाने भएकाले सोहीअनुसार आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, गोसाइँकुण्ड क्षेत्रविकास समिति, जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, रसुवा जिल्ला अस्पताल, रेडक्रस, आयुर्वेद, ट्राफिक प्रहरी कार्यालयलगायतका सरकारी निकाय तयारीमा जुटेको व्यवस्थापन समितिले जनाएको छ।
बाटोको सरसफाइ, ट्राफिक व्यवस्थापन, शुद्ध खानेपानीको धारा, सडक बत्ती, फोहोर व्यवस्थापन, कालोबजारी गर्नेलाई कारबाही, ठाउँठाउँमा स्वास्थ्य शिविर सञ्चालन, बिरामीको उद्धार लगायतका व्यवस्थापकीय कार्य अघि बढाइने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष तामाङले जानकारी दिए।
विगत २५ वर्षदेखि गोसाइँकुण्डमा गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको हिमालय उद्धार सङ्घले 'पुत्रदा एकादशी'देखि जनैपूर्णिमा पर्वसम्म अक्सिजनसहितको स्वास्थ्य उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालका अनुसार यसवर्ष छ जना एमबीबीएस चिकित्सकसहित सातजना स्वास्थ्यकर्मी सम्मिलित समूहले गोसाइँकुण्डमा उपचार सेवा प्रदान गर्नेछ। जिल्लास्तरका अस्पताल, गोसाइँकुण्ड गाउँपालिका, जनस्वास्थ्य कार्यालय, नेपाली सेना र रेडक्रस समेतका निकायले बाटोमा पर्ने चन्दनबारी, लौरी विनायक, बुद्धमन्दिर लगायतका स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्नेछन्।
समितिका अध्यक्ष सञ्जीव डिएमले काठमाडौँको बालाजुदेखि धुन्चेसम्मको १२० किलोमिटर सडकयात्रामा कुनै समस्या नभएको र धुन्चेबाट करिब डेढ दिनको पैदलयात्रापछि सहज रूपमा गोसाइँकुण्ड पुग्न सकिने भएकाले निर्धक्क भई तीर्थयात्रामा आउन सबैलाई अनुरोध गरेका छन्।
जनैपूर्णिमा पर्व व्यवस्थापनकै सन्दर्भमा गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङको अध्यक्षतामा बसेको बैठकले स्थानीय निकायका जनप्रतिनिधि, नागरिक समाज, स्वास्थ्य चिकित्सक, होटल व्यवसायी, जिल्लास्थित सुरक्षा अङ्गका प्रमुख, सञ्चारकर्मी, स्थानीय व्यवसायी समेतको सहभागितामा एकीकृत सेवा प्रदान गर्ने विषयमा छलफल गरी सम्बद्ध सबैको जिम्मेवारी तोकिएको छ। यसवर्ष १५ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिएको छ।
पुरोहित टङ्ङ्प्रसाद ढकालका अनुसार गोसाइँकुण्ड जाँदा पूजाका लागि तामाको दियो, एउटा बसाह र त्रिशूल तथा धुपबत्ती साथमा लिई चढाउनुपर्ने मान्यता छ। लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले गोसाइँकुण्ड जाँदा बाँसको लठ्ठी मात्र प्रयोग गर्न, कुनै पनि वनस्पति नमास्न र फोहोर तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न अनुरोध गरेको छ। नुहाएका वस्त्रसमेत नछोड्न र यदि छोड्नै परे 'डम्फिङ साइट'मा मात्र फाल्नसमेत निकुञ्जले ध्यानाकर्षण गराएको छ।
पार्वतीकुण्ड संरक्षण अभियन्ता मि लामाले गोसाइँकुण्ड पुगेर महादेवको दर्शन गरेपछि रसुवाकै गत्लाङको सिरानमा अवस्थित पार्वती माताको पनि दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहेकाले सडक बाटो प्रयोग गरी पार्वतीकुण्डसम्म आई पुण्यआर्जन गर्न अनुरोध गरेकी छन्। धुन्चेबाट स्याफ्रुबेँसी, कोमेन, गोल्जुङ, गोदाम हुँदै सोम्दाङ जाने सडकबाट तीन घण्टामै पार्वतीकुण्ड पुग्न सकिने लामाले जानकारी दिए।