काठमाडौं । विभिन्न कारणले इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फर्किएका छन्। इरानी अदालतले उनीहरूलाई थुनामुक्त गर्ने आदेश दिएपछि तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा उनीहरूलाई नेपाल फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसअघि पनि भारत सरकारको सहयोगमा भारतीय नागरिकलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन लटमा गरी नौ नेपाली नागरिकलाई इरानबाट उद्धार गरी स्वदेश फर्काइएको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार, इजरायल र इरानबीच गत २०२५ जुन १३ मा सुरु भएको द्वन्द्व २०२५ जुन २३ मा युद्धविराम भएपछि शान्तिसुरक्षाको स्थिति सहज हुँदै गएकाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सम्भव भएको हो। नेपाल सरकारले यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ।