भारतको औपचारिक भ्रमण सकेर फर्किए परराष्ट्रमन्त्री खनाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
141
Shares
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको आफ्नो तीन दिने औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आइतबार साँझ स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खनालले आफ्नो यो भ्रमण अत्यन्तै उपलब्धिमूलक रहेको दाबी गरे। उनले नेपाल–भारत सम्बन्धलाई व्यावहारिक र प्रविधिमैत्री बनाउने दिशामा यस पटक ठोस प्रगति भएको बताए।
भ्रमणका क्रममा भएका मुख्य उपलब्धिहरूबारे जानकारी दिँदै मन्त्री खनालले सन् २०२३ जुन महिनामा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबिच भएको समझदारी अनुसार व्यक्तिदेखि व्यक्तिसम्म (पीटूपी) हुने सीमापार भुक्तानी कारोबारको पूर्ण सञ्चालन सुरु गर्ने आपसी सहमति भएको बताए।
यसैगरी नेपालमा २०७२ सालको महाभूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको विकास सहायतामा निर्माण सम्पन्न भएका स्वास्थ्य क्षेत्रका ७२ वटा र सांस्कृतिक सम्पदा क्षेत्रका १२ वटा परियोजनाहरू औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको जानकारी उनले दिए।
प्रविधिको क्षेत्रमा भएको अर्को महत्त्वपूर्ण सम्झौताबारे प्रष्ट पार्दै मन्त्री खनालले काठमाडौँ विश्वविद्यालयको स्कूल अफ इन्जिनियरिङ अन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र भारतको डिजिटल इन्डिया भाषिनी डिभिजनबिच ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद मञ्च विकासका लागि राष्ट्रिय डिजिटल सार्वजनिक पूर्वाधार सहनिर्माण गर्ने सम्झौतापत्र आदानप्रदान भएको बताए। यस सम्झौताले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकासमा ठुलो सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस. जयशङ्करसँग विभिन्न क्षेत्रका आपसी सहकार्य, कूटनीति एवं सीमासम्बन्धी विषयमा गहन छलफल भएको मन्त्री खनालले उल्लेख गरे। नेपाल र भारतबीच विद्यमान सीमा विवादलाई कूटनीतिक माध्यम र हाल क्रियाशील रहेकै स्थापित संयन्त्रहरू मार्फत समाधान गर्ने दुवै देशको साझा धारणा रहेको र सोही ढंगले संयन्त्रहरूले काम अगाडि बढाइरहेको उनले स्पष्ट पारे।
यसका साथै, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा समेत दुई पक्षबीच सकारात्मक छलफल भएको र यसबारे छिट्टै प्राविधिक समितिको बैठक बस्ने जानकारी उनले दिए। मन्त्री खनाल भारतीय विदेशमन्त्री एस. जयशङ्करको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका हुन्।