चितवन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३, शान्ति चोकमा तरकारी बोक्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार, बुधबार राति १२:३० बजेतिर यो घटना भएको हो। खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च०५१० नम्बरको तरकारी बोक्ने बोलेरोले जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१ख३३६५ नम्बरको रात्रिबसलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आइरहेको बा प्र ०६–००१प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक कँडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा राति १:१९ बजे मृत्यु भएको खनालले जानकारी दिए। बोलेरो गाडी र त्यसका चालक अहिले प्रहरीको नियन्त्रणमा छन्।